Kathmandu Press

काठमाडौं महानगरमा वाटर एटिएम बन्ने, पाँच रुपैयाँमा १ लिटर पानी पाइने 

काठमाडौं, चैत ९ः काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राखिने भएको छ। यसका....

काठमाडौं महानगरमा वाटर एटिएम बन्ने, पाँच रुपैयाँमा १ लिटर पानी पाइने 

काठमाडौं, चैत ९ः काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राखिने भएको छ। यसका लागि आइतबार काठमाडौं महानगर र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच सहमती पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर सुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट  कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरे। 

सम्झौताबमोजिम चालु आर्थिक वर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ। 

सम्झौतापछि प्रमुख शाक्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रविधिजन्य प्रणाली जडान गर्दै लगिने बताए। ‘खानेपानीको न्युनतम आवश्यकता पूरा गर्नुपर्ने आवश्यकता छँदैछ । यसका लागि मेलम्चीको आशा छ । काठमाडौंलाई धान्ने पानीका लागि याङ्ग्री र लार्के खोला जोड्ने काम हुनेछ भन्ने ठानेका छौं,’ उनले भने, ‘यससँगै शहरवासीलाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउने कामका लागि यो सम्झौता गरिएको हो ।’ काठमाडौं उपत्यकाका १५ ठाउँमा वाटर एटिम राख्ने योजना छ। ‘अहिले नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने अवस्था छ। एटिम जडान भएपछि उपभोक्तासँग आफूलाई चाहिनेजत्ति मात्र पानी किन्ने विकल्प उपलब्ध हुनेछ,’ बोर्डका कार्यकारी निर्देशक राणाले भने। उनले अहिले १ हजार ५ सय लिटरको ट््याङ्कीबाट दिइने सेवालाई पछि सोझै मेलम्चीको पाइप जडान गरिने योजना रहेको बताए। स्थानापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटिएमको लागत मुल्य करीब १५ लाख ७५ हजार रहनेछ । 

युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि विश्वमा हरेक ३ जना व्यक्तिमध्ये एक जना व्यक्ति स्वच्छ र पिउन योग्य पानीको पहुँचबाट बञ्चित छन् । सन् २०१० मा संयुृक्त राष्ट्र संघको महा सभाले, प्रत्येक व्यक्तिले पर्याप्त र निरन्तर, सुरक्षित, स्वीकार्य, शारीरिक पहुँचयोग्य पानी सस्तोमा पाउनु पर्ने पानी र सरसफाइ सम्बन्धि अधिकारको सुनिश्चित गरेको छ । राजधानी शहर काठमाडौंमा कामको सिलसिलामा बाहिर निस्कँदा यस प्रकार सस्तोमा पानी उपलब्ध हुने ठाउँ छैनन् । उपभोक्ताले आवश्यक नभए पनि १ लिटर पानी खरिद गर्नु पर्ने बाध्यकारी अवस्था आउँछ । वाटर एटिमको सुविधा विस्तार भएपछि उपभोक्तालाई चाहिए जति मात्र पानी खरिद गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ । वाटर एटिएम एउटा उपकरण हो । यसमा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ । त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ । यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ । यो पानी बोतलमा थाप्न सकिन्छ ।

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्