Kathmandu Press

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु

सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ।
इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु
Hardik ivfHardik ivf

बेरुत, चैत १६ : सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ। सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ।

बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहको क्षेप्यास्त्र भण्डारणमा इजरायलले हवाई आक्रमण गरेको जनाएको छ। आक्रमणमा अरु दर्जनौं व्यक्ति घाइते भएका छन्। इजरायली विमानले एलेप्पोको अन्तर्राष्ट्रिय विमानस्थल नजिक आक्रमण गरेका थिए। 

सिरियाली सरकारी समाचार एजेन्सी सानाका अनुसार शुक्रबार बिहानै गरिएको उक्त आक्रमणबाट सिरियाली सैनिक सहित धेरै सर्वसाधारणको मृत्यु भएको छ।  सिरियाली सैनिक स्रोतलाई उद्धृत गर्दै सानाले इजरायली लडाकू विमानले एलेप्पोको दक्षिणपूर्वी अथरियाबाट आक्रमण गरेको जनाएको छ। 

इजरायली सेनाले भने उक्त आक्रमणका बारेमा केही बताउन अस्वीकार गरेको छ। सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएयता सैयौं पटक सिरियाली भूभागमा हवाई आक्रमण गरिसकेको छ। इजरायलले लेबनानमा सक्रिय हेज्बुल्लाह समूहलाई हतियार आपूर्ति हुन नदिन यस्तो आक्रमण गरिआएको बताउँदै आएको छ।

गत अक्टोबर ७ मा गाजा क्षेत्रमा हमास विरुद्धको युद्ध प्रारम्भ भएसँगै इजरायलले सिरियाली भूभागमा पनि आक्रमणको संख्या बढाएको छ। गाजा युद्ध आरम्भ भएयता हमास समूहसँग निकट सम्बन्ध रहेको हेज्बुल्लाह विरुद्ध दैनिकजसो इजरायलले आक्रामक कारबाही गरिरहेको छ। 

पछिल्ला छ महिनामा इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ३४६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हेज्बुल्लाहका लडाकूहरु रहेका छन्। स्रोतका अनुसार यी आक्रमणबाट मारिएकामध्ये कम्तीमा ६८ जना सर्वसाधारण छन्।

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्