Kathmandu Press

कोसी कांग्रेसले पठायो इलाम-२ का लागि सात आकांक्षी उम्मेदवारको नाम

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो।
कोसी कांग्रेसले पठायो इलाम-२ का लागि सात आकांक्षी उम्मेदवारको नाम

काठमाडौं, चैत १२ : वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ। 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो। ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौं। बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,’ सभापति थापाले भने।

Hardik ivf

कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए। ‘क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपीसहित प्रदेशमा पठाएका हौं। इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गरी जिल्ला सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, क्षेत्रीय पदाधिकारीहरु एवम आकांक्षीहरुको उपस्थितिमा जे निर्णय भएको थियो त्यही निर्णयलाई आधार मानेर प्रतिलिपीसहित चत्र ७ गते निर्णय गरेर प्रदेश समितिलाई पठाइसकेका छौं,’ सचिव गौतमले भने।

गत मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो। क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो।

सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए। बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए। 

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो। त्यसैले निर्वाचन हुन लागेको हो। कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन्। इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ।

राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकरात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ। आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरु काठमाडौं केन्द्रित छन्। विशेषगरी आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन्। एक नम्बरमै नाम सिफारिस भएपछि आचार्य समूह उत्साहित छ। केन्द्रिय समितिले चैत्र १५ सम्ममा आधिकारिक उम्मेदवारको नाम टुंगो लगाउनेगरी तयारी गरिरहेको छ। 
 

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, चैत १२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्