Kathmandu Press

‘नेपालको पर्यटन प्रवर्द्धनका लागि धेरै पर्यटक होइन गुणस्तरीय पर्यटक ल्याउनुपर्छ’

‘कतिजना पर्यटक आएभन्दा पनि कस्ता पर्यटक आए भन्ने कुराले पर्यटन क्षेत्रमा बढि प्रभाव पार्छ, इन्ट्रपेड सुरु भएदेखि नै हामीले नेपालमा पर्यटक पठाइरहेका छौं । मेरो विचारमा नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढि जोड दिए समग्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ वेडले भने ।
‘नेपालको पर्यटन प्रवर्द्धनका लागि धेरै पर्यटक होइन गुणस्तरीय पर्यटक ल्याउनुपर्छ’
Hardik ivfHardik ivf

काठमाडाैं प्रेस, चैत ९: विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले अहिले तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा छन् । उनको स्वागतमा आयोजित कार्यक्रममा उनले विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।

‘कतिजना पर्यटक आएभन्दा पनि कस्ता पर्यटक आए भन्ने कुराले पर्यटन क्षेत्रमा बढि प्रभाव पार्छ, इन्ट्रपेड सुरु भएदेखि नै हामीले नेपालमा पर्यटक पठाइरहेका छौं । मेरो विचारमा नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढि जोड दिए समग्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ वेडले भने ।

कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको पनि स्मरण गरे । ‘सन् १९८४ मा विश्वविद्यालयको अध्ययनपछि म तीन महिना दक्षिण–पूर्वी एसियाको भ्रमणमा निस्किएिको थिएँ,’ उनले भने, ‘भ्रमणका क्रममा काठमाडौं आइपुग्दा मलाई यहाँको अनुभव निकै प्रेरक महसुस भयो । भ्रमणले जीवनमात्र नभएर संसारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्ने रहेछ भन्ने बुझेँ । मलाई धेरैभन्दा धेरै मान्छेलाई यस्तै प्रेरक भ्रमण गराउन मन लाग्यो, र इन्ट्रपेडको जन्म भयो ।’

Darrell-Wade-Intrepid-Co-Founder-2-1711129369.jpg

अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ । नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ। इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सी मध्ये एक हो।

२०२३ मा इन्ट्रपेडले २ लाख ५० हजार पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो । जसमध्ये ४ हजार पर्यटक नेपाल आएका थिए । इन्ट्रपेडले २०२४ मा ५००० पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ ।

अन्य कम्पनीहरुले भ्रमणकर्ताहरुलाई विभिन्न ठाउँमा लैजाने तर तारे होटल र रिसोर्टमा राखेर त्यो ठाउँको मौलिकताबाट टाढै राख्ने गरेको पनि वेडले गुनासो गरे । तर, इन्ट्रपेड घुम्ने प्याकेजमात्र बेच्ने कम्पनी नभएको उनले जिकिर गरे ।

‘हामी नयाँ ठाउँमा पुग्नुलाई मात्र भ्रमण मान्दैनौं । भ्रमण सफल हुनका लागि जुन ठाउँमा पुगेको छ त्यहाँको समुदायसँग नजिक हुनुपर्छ । भ्रमण भनेको ‘कल्चरल एक्स्चेन्ज’ हो । भ्रमणका क्रममा पर्यटकले केही नयाँ कुरा पाइरहेको वा अनुभव गरिरहेको छ भने उसले घुमेको समुदायले पनि पर्यटकबाट त्यस्तै कुरा सिक्न र बुझ्न पाउनुपर्छ भन्ने इन्ट्रपेडको मूल मान्यता छ,’ उनले भने ।

इन्ट्रपेडको यही सिद्धान्त र सिद्धान्त अनुसरणका लागि २०२४ मा लगातार चौथोपटक सर्वाधिक नवप्रवर्तनकारी कम्पनीको अवार्ड जितेको थियो । अवार्डमा मात्र होइन पर्यटकको संख्यामा पनि इन्ट्रपेडले रेकर्ड कायम गरेको छ । सन् २०२३ मा इन्ट्रपेड विश्वभर सर्वाधिक पर्यटक पठाउने ट्राभल कम्पनी बनेको थियो । कोभिड महामारीपछि विश्वमा पर्यटन क्षेत्रलाई ब्युँताउन इन्ट्रपेडले उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

Darrell-Wade-Intrepid-Co-Founder-4-1711129385.jpg

नेपालमा भने इन्ट्रपेडले पर्यटनको उत्थानमा मात्र नभएर समुदायकै उत्थानमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । चितवनको माडीका स्थानीय तथा आदिवासीहरुलाई महाभूकम्प तथा कोभिडपछि होमस्टेमार्फत् स्वालम्बी बनाउन डब्ल्यूबब्ल्यूएफ र अस्ट्रेलिया सरकारसँगको सहकार्यमा इन्ट्रपेडले  निरन्तर कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

सगरमाथा क्षेत्रमा व्याप्त रहेको फोहोरको समस्याको समाधानमा पनि इन्ट्रपेडले अग्रणी भूमिका निर्वाह गरिरहेको वेडले बताए । इन्ट्रपेडको अग्रसरता र ‘सगरमाथा नेक्स्ट’ नामक संस्थासँगको सहकार्यमा लामो समयदेखि त्यहाँ ‘टेक मि ब्याक’ कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम अन्तर्गत सगरमाथा आरोहण गर्न गएका तथा बेस क्याम्पमा ट्रेकिङ गर्न गएका स्वदेशी एवं विदेशी पर्यटकहरुले काठमाडौं फर्किदा त्यहाँबाट एक झोला फोहोर फिर्ता ल्याउनै पर्छ । यसले सगरमाथा क्षेत्रमा वर्षौंदेखि व्याप्त रहेको फोहोरको समस्या न्यूनिकरण गर्न धेरै सहयोग गरेको छ ।

इन्ट्रपेडले यसरी विश्वभर दिगोविकास र वातावरणमैत्री नीति लाई अनुसरण गर्दै भ्रमण प्याकेजहरु तयार गर्दै आएको छ । इन्ट्रपेडका दुई संस्थापक वेड तथा जेफ म्यानचेस्टर अहिले विश्वभर रहेका आफ्ना २८ कार्यालयको भ्रमण गरिरहेका छन् । उनीहरु २०३० सम्मका लागि कम्पनीको रणनीति निर्धारण गर्न भ्रमणमा छन् । इन्ट्रपेड २०२३ मा टाइम्स म्यागाजिनको १०० प्रभावशाली कम्पनीहरुको सूचीमा पनि परेको थियो ।

प्रकाशित मिति: २३:२८ बजे, शुक्रबार, चैत ९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्