कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं, चैत ८ : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्ध....

काठमाडौं, चैत ८ : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्यूरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिए। प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ। अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ। उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ।
उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ। प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ। नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ।
यसैबीच नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौंले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ। त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारवाहीको माग गरिएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

