Kathmandu Press

'सैनिक हुँ' भन्दै ठगी गर्दै हिँड्ने पक्राउ

झापा, चैत ८ : 'सैनिक हुँ' भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ का ४६ वर्....

'सैनिक हुँ' भन्दै ठगी गर्दै हिँड्ने पक्राउ

झापा, चैत ८ : 'सैनिक हुँ' भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ का ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार राउतले मेचीनगर नगरपालिका–१२ स्थित चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक डाकबहादुर राईलाई एक लाख दुई हजार रुपैयाँ ठगेका थिए।

राउतले आफू सैनिक भएको र मेसको कामको जिम्मेवारी रहेको बताउँदै मेसमा बचेको सामान सस्तो मूल्यमा दिने प्रलोभन देखाइ राईलाई ठगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राउतले राईलाई पैसा लिई गाडी लिएर चारआलीस्थित सेनाको ब्यारेकको गेटमा पठाउन अनुरोध गरेका थिए। उनले सो रकम बाटैबाट लिई चालक ख्याम अधिकारीलाई सामान लिन सेनाको गेटमा बोलाएको प्रहरीको भनाइ छ। सामान लिन गाडी लिएर गएका अधिकारीले गेटमा पुग्दा निज व्यक्ति नभेटिएको र उनले दिएको सम्पर्क नम्बरमा समेत फोन गर्दा नउठेपछि तत्काल प्रहरी चौकी चारआलीमा निवेदन दिएका थिए।

Hardik ivf

राईले दिएको निवेदन र हुलियाको आधारमा खोजतलास गरिरहेको प्रदेश नं १ नम्बर प्रदेश प्रहरी विराटनगर, जिल्ला प्रहरी कार्यालय झापासहितको टोलीले उनलाई शुक्रबार काँकरभिट्टाबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा राउतले आफ्नो नामसमेत ढाँटी फरक–फरक सिमकार्ड प्रयोग गरी चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर र सुनसरीको धरान, इटहरी, गोरखा, काभ्रेलगायतका दर्जनौँ स्थानका किराना पसललाई सैनिकको ब्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै ठगी गरेको पाइएको छ।

उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले ५४ हजार रुपैयाँ, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ। 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, चैत ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्