Kathmandu Press

दुई दशकदेखि चित्र कोरेर गुजारा

'विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे। रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे', उनले भने, 'चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ।'
दुई दशकदेखि चित्र कोरेर गुजारा
Hardik ivfHardik ivf

कञ्चनपुर, चैत ४ : कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्। 

आफूले व्यावसायिक रुपमा चित्र कोर्न तथा भित्तेलेखन सुरु गरेको दुई दशक बढी समय भएको उनले सुनाए। 'विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउथे। रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउथे', उनले भने, 'चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ।'

तुलसीरामले चित्र बनाउन कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताए। 

'सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ। देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो', विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, 'त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहैँ थिएन।  दिमागमा त्यस्तै फुर्‍यो, बनाएँ।'

उनी चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न छन्। बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए। 'फुर्सदको समयमा खेतीपाती गरिन्छ। चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिदैन,' उनले भने, 'विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ।'

उनका अनुसार विगतमा मासिक रु ५० हजारभन्दाबढी कमाउन सकिन्थ्यो। प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताए। विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक रु एक हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ। 'विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे। अहिले डिजिटल मेसिन आइसके। विगतको भन्दा काम कम पाइन्छ', उनले भने, 'त्यहीँ पनि दिनहुँ रु एक हजार भन्दा बढी आम्दानी हुने गर्छ।'

भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट रु तीन सयदेखि पाँच सयसम्म शुल्क लिने गरिएको छ। तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन्। २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनले बताए। 

तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र  छोरा बस्छन्। 'दाइछोरीहरु पनि राम्रो चित्र बनाउँछन्। अन्य पेसामा हुँदा उहाँहरुले व्यवसायिकता दिन पाउनुभएको छैन', उनले भने, 'चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ। कामको खोजीमा विदेशिनु परेको छैन। यसमै खुसी छुँ।'

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्