‘भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको मुलुककाे अर्थतन्त्र अहिले मजबुत छ’
नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केहि समस्या देखिएपनि संकटको अवस्थामा भने नपुगेको बताएका हुन्।काठमाडाैं, चैत ४ : अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन्।
नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केहि समस्या देखिएपनि संकटको अवस्थामा भने नपुगेको बताएका हुन्। उनले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी रहेको धारणा राखे।
एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति अहिले रहेको विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेको भन्दै मन्त्री पुनले अव विस्तारै लगानी पनि बढ्ने दाबी गरे।
उनले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको धारणा राखे। मन्त्री पुनले आफ्नो कार्यकालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने जिकिर गरे।
उनले कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे।
कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको जनाएको छ।