कोरोना प्रभाव : गैंडा गणना स्थगित
चितवन, चैत ७ : चैत १० गतेदेखि हुने भनिएको गैंडा गणना स्थगन गरिएको छ। शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएक....

चितवन, चैत ७ : चैत १० गतेदेखि हुने भनिएको गैंडा गणना स्थगन गरिएको छ। शुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जमघट नहुन निर्देशन गरेकोले तत्काललाई गणना कार्य स्थगन भएको जानकारी दिए।
उनका अनुसार गैंडा गणनाका लागि एक सय ५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ। सरकारले अर्को सूचना जारी नगर्दासम्म गौंडा गणना कार्य स्थगन भएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भइसकोले कोरोनाको त्रास घटेपछि गणना गर्न सकिने बताए। उनले गौंडाको गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घट्ने वितिकै सुरु गर्ने बताए।
विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो। गैँडा गणना गर्न चैत महिना राम्रो मानिन्छ।
विगतका वर्षमा सरकारले दाताको भरमा गैंडा गणना गर्दै आएको थियो। यस वर्ष भने आफ्नै खर्चमा गैंडा गणनाको लागि विभागले एक करोड १० लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
नेपालमा हरेक पाँच/पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ। पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैंडा थिए। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान रहेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

