धितोपत्र बोर्डको अध्यक्षमा एक महिलासहित १९ आकांक्षी
बाेर्डको अध्यक्ष बन्न बीमा सिमितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंदेखि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्टसम्मले आवेदन दिएका छन्।काठमाडौं, चैत १ : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जना आकांक्षीको आवेदन परेको छन्।
बाेर्डको अध्यक्ष बन्न बीमा सिमितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंदेखि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्टसम्मले आवेदन दिएका छन्। बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेप्सेकी उपप्रवन्धक प्रविन पन्दाकको पनि आवेदन परेको छ। यस्तै, सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, डा.केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा.रघुराज काफ्ले, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की पनि प्रतिश्पर्धामा छन्।
बोर्डको अध्यक्ष सिफारिस गर्न सरकारले गत माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। बोर्डको अध्यक्षका लागि एक मात्र महिला प्रतिश्पर्धीका रुपमा प्रविन पन्दाकको आवेदन परेको छ। अधिवक्ता समेत रहेकी पन्दाक एलएलएममा त्रिभुवन विश्वविद्यालयकै ‘गोल्ड मेडलिस्ट’ हुन्। यसअघि उनले नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनौटको प्रतिस्पर्धाको आवेदकमध्येबाट शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा छानिएका पाँचजनाको सर्टलिष्टमा परेकी थिइन्। नेपालमा कमर्सियल सरोगेसी (भाडामा बच्चा जन्माउने कार्य) विरुद्ध पन्दाकले दिएको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतले प्रतिबन्ध लगाउनले ऐतिहासिक फैसला गरेको थियो।
श्रेष्ठ संयोजकत्वको समितिले आवेदन परेकामध्यबाट तीन जनाको नाम अध्यक्षका लागि अर्थमन्त्रालयलाई सिफारिस गर्नेछ। अर्थले क्याबिनेटमा प्रस्ताव गरेपछि सिफारिसमा परेका तीनजना मध्येबाट एक जना मन्त्रिपरिषदको निर्णय अनुरुप धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने छन्। बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० जारी भएसँगै गत फागुन १६ गते आवेदन खुला गरिएको थियो। आवेदन दिने म्याद आज फागुन ३० गते समाप्त भएको छ।