Kathmandu Press

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो।
दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

दार्चुला, फागुन २८ : भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ। आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए। 

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो। उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

Hardik ivf

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए। कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए। प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए। कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ। 

गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो। कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए।

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्