काठमाडाैंको लगनटोलमा सुविधा सम्पन्न पार्क बन्दै
काठमाडौं, चैत ६ः काठमाडौं महानगरपालिकाको केन्द्रमा रहेको वडा नम्बर–२१ को लगनटोलमा सत्तल, पार्क, संग्राहलय, स्कल्पचर, पोखरी र ढुंगेधारसहितको सुवि....

काठमाडौं, चैत ६ः काठमाडौं महानगरपालिकाको केन्द्रमा रहेको वडा नम्बर–२१ को लगनटोलमा सत्तल, पार्क, संग्राहलय, स्कल्पचर, पोखरी र ढुंगेधारसहितको सुविधा सम्पन्न पार्क बन्ने भएको छ।
आफ्नो क्षेत्र भित्रका खाली जग्गामा हरियाली प्रवद्र्धन गर्ने र पार्क निर्माण गर्ने योजना अनुसार नै महानगरपालिकाले यो स्थानमा पार्क निर्माणको काम अघि बढाएको हो। करीब चार रोपनी क्षेत्रफलमा फैलिएको सो स्थानमा लंग पार्क निर्माणका लागि बिहीबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिमित सङ्ख्यामा उपस्थित स्थानीय र अतिथिहरुका बीचमा शिलान्यास गरे।
२०७२ बैशाख १२ को भूकम्प अघिसम्म नेपाली सेनाले सिलखाना (हतियार भण्डारण गर्ने) का रुपमा प्रयोग गर्दै आएको सो क्षेत्र अहिलेसम्म पनि भग्नावशेषका रुपमा रहँदै आएको स्मरण गराउँदै प्रमुख शाक्यले सोही स्थानमा पार्क निर्माणको योजना अघि बढाएको बताए।
‘कुनै समय ऐतिहासिक प्रशासनिक इकाइका रुपमा रहेको भित्रि शहर लगन चोकमा यस्तो ऐतिहासिक पार्क निर्माण गर्न लाग्दा निकै खुशी लागेको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले ३२ वटै वडामा रहेका खाली जग्गाहरुको संरक्षण गर्दै पार्क निर्माणको अभियान अघि बढाएका छौँ। त्यहि अन्तरर्गत आज यहाँ लंग पार्कको शिलान्यास भएको हो। हामीले करीब एक वर्ष यहाँका स्थानीय र सरोकारवालाहरुसँग छलफल गरेर यो कामलाई औपचारिक रुपमा अघि बढाएका हौं।’
उनले भित्रि शहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भनेर नै यस्ता पार्क निर्माणको कामलाई तिव्रता दिएको बताए।
पार्कको सन्दरतालाई बचाई राख्न रात्रीकालिन बत्तीकोसमेत व्यवस्था गरिएको र शारीरिक व्यायमका लागि पनि पार्क उपयुक्त हुने शाक्यले बताए।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि अष्टमंगल र पञ्चतत्वलाई समेत ध्यानमा राखेर पार्कको डिजाइन तयार पारेको भन्दै रेनवाटर हार्वेस्टिङको समेत व्यवस्था गरेकाले पार्कमा आउने जो–सुकैलाई सहज हुने बताए।
कंडेल/के.एण्ड केजी/मिता जेभीले निर्माणको जिम्मा पाएको सो पार्क २०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्नुपर्ने छ। सो कम्पनीका अशोक भक्त श्रेष्ठका अनुसार पार्क निर्माणको कार्यादेश रकम भ्याट बाहेक ३ करोड ५७ लाख १९ हजार ६ सय १८ रहेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

