उपत्यकाबाट बाहिरिने मानिसको संख्या बढ्यो
काठमाडौं, चैत ६ : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएक....

काठमाडौं, चैत ६ : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अन्य दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउछन्।
घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो। महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि यात्रुहरु उपत्यका छोड्ने क्रम बढेको बताउँछन्।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार एक सय ८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन्। त्यस्तै १८ हजार चार सय ४१ सवारी साधन बाहिरिएका छन्। अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला विश्वमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य मास्कको प्रयोग गन आग्रह गरेका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

