सत्ता गठबन्धन हेरफेर भएपछि सेयरबजारमा सर्किट ब्रेक

काठमाडौं, फागुन २१: सत्ता गठबन्धनमा हेरफेर भएसँगै सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत (७९ अंक) बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ ।
सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।
हालको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको हो । आज (सोमबार) नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने नयाँ सहमति जुटेको थियो ।
प्रकाशित मिति: ११:२१ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












