Kathmandu Press

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने

नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उहाँको शव उनकी आमालाई सुम्पेका थिए।
नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने

मस्काे, फागुन १६ : आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उहाँका राजनीतिक सहयोगीले बताएका छन्।

नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उहाँको शव उनकी आमालाई सुम्पेका थिए।

नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, 'नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ। सबै जना समयमै त्यहाँ आइपुग्नुहोला।'

उनको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने बताइएको छ। उनको टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको बताएको छ। 'हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे। केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो,' निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ। 

'हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन। नाभाल्नीको अन्त्येष्टि आवश्यक छ। अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ,' उनले सन्देशमा लेखेका छन्। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, फागुन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्