महेशपुर भन्सारद्वारा नौ लाख मूल्य बराबारको कपडा बरामद
नवलपरासी, चैत ५ : सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ।
....नवलपरासी, चैत ५ : सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ।
जिल्लाको विभिन्न स्थानबाट करिब नौ लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ। रातिको समयमा अवैधरूपमा कपडा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा भन्सारबाट खटिएको टोलीले रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट उक्त कपडा बरामद गरिएको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए।
'रामग्राम–७ उजैनी, रामग्राम–४ जीतपुर, पाल्ही क्याम्पस सडकलगायतका स्थानबाट एकैपटक उक्त कपडा बरामद गरिएको छ”, उनले भने, तस्करले प्रयोग गरेका दुई मोटरसाइकल पनि बरामद गरिएको छ, तस्करी नियन्त्रणका लागि हामी निरन्तर लागिरहेका छौं।'
कपडा र मोटरसाइकल बरामद भए पनि तस्करहरु भने भाग्न सफल भएको भन्सार कार्यालयले जनाएको छ।
चोरी निकासी पैठारी नियन्त्रणका लागि सुराकी परिचालन, एकल गस्ती, संयुक्त गस्ती, सम्बन्धित क्षेत्रका छोटी भन्सारको सक्रियता, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय एवं सहकार्य गर्दै आएको भन्सार प्रमुख शर्माले बताए।