Kathmandu Press

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

अन्तिम संस्कार गर्नुअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए।
भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, फागुन १५ : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। छोराहरू सत्यराज र स्वरुपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिए।

उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि सर्वसाधारणकाे बाक्लो उपस्थिति थियो। अन्तिम संस्कार गर्नुअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए।

पशुपति आर्यघाट लानुअघि आचार्यको पार्थिव शरीरलाई सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। त्यहाँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, संस्कृतिमन्त्री सुदन किरातीलगायतले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाउँदै आचार्यको निधनले मुलुकलाई क्षति पुगेको बताए।

आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज तथा संगीतत दिएका छन्। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीतसङ्गीत क्षेत्रमै छन्। 

उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ। १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ। ४०० भन्दा बढी गीतमा स्वर र संगीत दिएका आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, फागुन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्