प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिँदै
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो।-1709017933.jpg)
काठमाडौं, फागुन १५ : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ।
प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जली अर्पण चलिरहेको बताए।
साथै केही समयपछि श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिए। उनका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो। प्रतिष्ठानकी कुलपति निशा शर्माले गीतसङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने बताइन्।
आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज तथा संगीतत दिएका छन्। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन्।
उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ।












