नेपाली भूमि बचाउन सीमानामा बस्ती बसालाैं : मन्त्री अर्याल
काठमाडौं, चैत ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपाली भूमि बचाउन सीमानामा बस्ती बसाल्नु पर्ने बताएकी छिन्....

काठमाडौं, चैत ४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपाली भूमि बचाउन सीमानामा बस्ती बसाल्नु पर्ने बताएकी छिन्।
कैलाली, कञ्चनपुरको स्ट्रिप नक्सा छानविन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएको कञ्चनपुरको टोलीसँग मंगलबार कुराकानी गर्दै मन्त्री अर्यालले सीमा बचाउन सीमामा बस्ती बसाउने योजना अघि ल्याउनुपर्ने बताएकी हुन्।
'सीमामा बस्ती बसाउने योजना बनाऔं। एउटा नदी सीमाना मान्दा नदीको बहाव परिवर्तन हुँदा पनि सीमाना परिवर्तन भएको छ', मन्त्री अर्यालले भनिन्, 'हाम्रो सीमानामा अकुपाइ गराउने गरी स्थानीय तहमा समन्वय गरेर बस्ती बसाऔं। हामी भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दैछौं त्यहाँ लगेर राखौं। छाडेर गएपछि अर्कोले पेल्ने भए।'
सरोकारवालाहरुको खबरदारी निरन्तर हुनुपर्ने भन्दै मन्त्री अर्यालले नागरिक सचेतना चलिरहनुपर्ने बताए। प्राप्त विवरणहरुको अध्ययन गरेर राजनीतिक सहमति गरेर सहमतिअनुसार नापजाँच गर्ने कुरामा पहलकदमी लिइने उनले बताइन्। उनले भनिन्,'यो डकुमेन्टको हामी अध्ययन गर्छौं। यताबाट राजनीतिक सहमति गरेर सहमति अनुसार नापजाँच गर्ने कुरामा हामी पहलकदमी हामी लिन्छौं।'
कञ्चनपुर जिल्लामा अहिले सीमा नक्सा अनुसार पिलरहरु कहाँ के-के छन् भनेर सीमा नापजाँच कार्यक्रम सञ्चालन भइरहेको छ। सोही क्रममा केही ठाउँमा बिवाद उत्पन्न भएपछि अहिले नापजाँच कार्य रोकिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।
खानेपानी मन्त्री वीना मगर, महिला तथा सामाजिक समितिका सभापति निरु पाल, प्रतिनिधिसभा सदस्यहरु दीपकप्रकाश भट्ट, नरबहादुर धामी, बिना बुढाथोकी लगायत जिल्लाका सांसदहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयबासी सम्मिलित टोलीले मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाउँदै नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिप नक्सा तयार गर्दा कञ्चनपुर जिल्लाका केही स्थानमा ऐतिहासिककालदेखि नेपाली भू-भाग कायम भएको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको पाइएकाले तत्काल छानविन गर्न माग गरेका थिइ।
टोलीले केन्द्रबाट नै संसदीय टोली पुगेर स्थलगत रुपमा छानविन गर्न उनीहरुले माग गरेका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

