कोरोनाको प्रभाव : बैंकको व्याज छुटको माग गर्दै सौराहाका होटल व्यवसायी
चितवन, चैत ३ : कोरोना भाइरसको त्रासले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन्।....

चितवन, चैत ३ : कोरोना भाइरसको त्रासले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन्। उनीहरुले बैंकको व्याज छुट र किस्ताको भाका बढाइदिन आग्रह गरेका हुन्।
क्षेत्रीय होटल सङ्घले बैठक बसी सरकारसँग व्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो। सङ्घका अध्यक्ष दीपक भट्टराईकाअनुसार कम्तीमा ६ महिनाको व्याज मिनाहा गरीदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ। नेपाल होटल एसोसिएशनले यही चैत ५ गते बैठक बोलाएको भन्दै भट्टराईले सोपश्चात सरकारसँग माग अघि बढाइने जानकारी दिए।
पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले सौराहाका होटलहरु सुनसान जस्तै भएका छन्। अहिले भएका विदेशी पर्यटकसमेत आफ्नो देशले फिर्ता बोलाएपछि फर्कन थालेका छन्। नयाँ सबैको बुकिङ् रद्द भएको छ। उनका अनुसार अहिले दैनिक दुई सय जनाको हाराहारीमा मात्र पर्यटक रहेका छन्। गतवर्ष यतिबेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए।
अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन्। सौराहामा ११५ वटा होटल सञ्चालनमा रहेका छन्। भट्टराईको भनाइमा एउटा होटलको एक करोड देखि ३० करोड रुपैयाँसम्म बैंकमा ऋण रहेको छ।
एकिन तथ्याङ्क नभए पनि सौराहाका होटल बनाउन आठ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन्। यो लगानी जग्गा बाहेकको हो। सोही हाराहारी बैंकको ऋण रहेको छ।
सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो। अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायीहरु बताउँछन्। त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको देखिन्छ। सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ।
कोरोनाको प्रभाव होटलमा देखिएपछि पर्यटकबाट आश्रित साना होटल, रेष्टूरेन्ट, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन्। जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ। यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ। व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराई बताउँछन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

