केही नयाँ काम अघि बढाइनेछ : मुख्य सचेतक पाण्डे
उनले भने, 'संसदबाट विधेयक पारित गर्ने गतिलाई तीव्रता दिन कार्यतालिका बनाएर कामलाई प्रभावकारी बनाउनुपर्छ। सत्यनिरुपण तथा मेलमिलाप, सम्पत्ति शुद्धीकरण, शिक्षा र प्रदेश प्रहरी समायोजनसहितका विधेयकलाई यसै अधिवेशनमा निष्कर्षमा पुर्याउन पर्नेछ।'
काठमाडाैं, माघ २० : नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आगामी अधिवेशनमा कार्यतालिका बनाएर काम गर्नेलगायत दुई चार वटा मुद्दालाई प्रखर रुपमा अघि बढाइने प्रतिक्रिया दिएका छन्। उनले भने, 'संसदबाट विधेयक पारित गर्ने गतिलाई तीव्रता दिन कार्यतालिका बनाएर कामलाई प्रभावकारी बनाउनुपर्छ। सत्यनिरुपण तथा मेलमिलाप, सम्पत्ति शुद्धीकरण, शिक्षा र प्रदेश प्रहरी समायोजनसहितका विधेयकलाई यसै अधिवेशनमा निष्कर्षमा पुर्याउन पर्नेछ।'
मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीबाट भएको निर्देशन भएअनुरुप बजेटमा जनप्रतिनिधिका आवाज र भावनालाई समाहित गर्ने सन्दर्भमा अध्यादेश जारी भइसकेकाले अबको बजेट कस्तो हुनुपर्छ भन्नेमा यसै अधिवेशनमा छलफल हुने बताए। उनले भने, 'समग्रमा सदनले विधेयक पारित गर्ने गति बढाए। सरकारले सुशासनको पक्षलाई महत्व दिएको छ। जनतालाई सकारात्मक सन्देश प्रवाह भइरहेको छ।'
वैदेशिक रोजगारीमा जाने युवा विद्यार्थीको सङ्ख्या बढिरहेकामा गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद पाण्डेले भने, 'यस्ता विषय नीतिगत रूपमा सुल्झाउनुछ। अर्कोलाई दोष मात्रै लगाउने प्रवृत्ति सही होइन। सामान्य विषयवस्तुमा पनि सदन रोक्ने र अवरोध गर्ने प्रवृत्ति गलत छ, त्यसमा सुधार गर्नुपर्छ।'
नेपाली काग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले संविधान र सङ्घीयता कार्यान्वयनसँग अत्यावश्यक मानिएका विधेयकलाई निष्कर्षमा पुर्याउने, सांसदको मागअनुरुप प्री बजेट छलफल गर्ने यस अधिवेशनका प्रमुख कार्यभार भएको बताए। उनले भने, 'टीआरसीका सम्बन्धमा उपसमितिबाट केही विषयवस्तु बाँकी राखेर अघि बढाएको छ,' समितिको पूर्ण बैठकमा छलफल गरी सदनमा पढाइने छ। यस अधिवेशनमा हुने प्री बजेट छलफलले नयाँ सन्देश प्रवाह गर्नेछ।












