बिचौलियाको मारमा सुन्तला व्यवसायी, राज्यले उपेक्षा गरेकाे गुनासाे
‘राज्यले कृषकलाई प्रोत्साहित गरेको छैन, गाउँलेहरू कोदो खानुपर्छ, मकै खानुपर्छ, सुन्तला बगैँचा मात्रै बढाएर के गर्नु भन्नुहुन्छ, यस्तो राम्रो सुन्तला हुने जमिन कोदो र मकै लगाएर राखिएको छ’, पेमासिंले भने।रामेछाप, पुस ११ : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ टेक्सिङका किसान पेमासिं तामाङले व्यावसायिक रूपमा सुन्तला खेति गर्न थालेको ३० वर्ष भयो।
गाउँका सबैले धेरथोर सुन्तला लगाएका छन्, तर पेमासिंले भने व्यावसायिक रूपमा नै सुन्तला बगैँचा बनाएका छन्। गाउँका ३० घर बढीले सुन्तला लगाएका छन्। पेमासिं र उनका दाजु औतारसिं लामाका भने ठुला ठुला बगैँचा छन्।
किसानले परम्परागत रूपमा सुन्तला लगाउँदै आएका भए पनि सरकारले उनीहरूलाई कुनै प्राविधिक सहयोग र अनुदान व्यवस्था गरेको छैन। ‘आफ्नै घरमा सुन्तलाको गेडाबाट बिरुवा उमार्यो, कोदालोले खन्यो रोप्यो, हामीले त्यस्तै गर्दै आएका छौँ’ पेमासिंले भने।
टेक्सिङको माटो र हावापानी सुन्तला उत्पादनको लागि अति उपयुक्त भएपनि सुन्तला खेती विस्तार हुन नसकेकोमा पेमासिंको चित्त दुखाइ छ। उनले गाउँमा सामूहिक सुन्तला खेतीको प्रस्ताव पनि नगरेका होइनन्, तर राज्यको कुनै सहयोग नहुँदा किसानहरू त्यस तर्फ आकर्षित हुन सकेका छैनन्।
‘राज्यले कृषकलाई प्रोत्साहित गरेको छैन, गाउँलेहरू कोदो खानुपर्छ, मकै खानुपर्छ, सुन्तला बगैँचा मात्रै बढाएर के गर्नु भन्नुहुन्छ, यस्तो राम्रो सुन्तला हुने जमिन कोदो र मकै लगाएर राखिएको छ’, पेमासिंले भने।
विगतमा गाउँमा सडक नपुग्दा डोकोमा बोकेर सुन्तला बजारसम्म र्पुयाउनु पर्दथ्यो। त्यसले पनि सुन्तला खातीमा गाउँलेको मन मरेको हो। तर अहिले गाउँमा सडक पुगेपछि उत्पादित सुन्तला काठमाडौँको कालीमाटी बजारसम्म पुग्न लागेको छ।
पेमासिंले सात वर्षदेखि कालीमाटी बजारमा सुन्तला पुर्याउँदै आएका छन्। तर त्यहाँ पनि उनले चित्तबुझ्दो भाउ भने पाएका छैनन्। जहाँ पनि बिचौलियाको बिगबिगी त्यही मारमा पेमासिं परेका छन्। ‘सबैले कालीमाटी कालीमाटी भन्छन् तर त्यहाँ पनि चित्त बुझ्दो भाउ छैन’, उनले भने।
कालीमाटीको तुलनामा गाउँमा नै सुन्तलको राम्रो भाउ छ। तर गाउँमा मान्छे नै छैनन्। उत्पादन भएको सुन्तला सबै गाउँमा बिक्री हुँदैन। ‘सकेसम्म गाउँमा नै बेच्ने प्रयास गर्छौँ, गाउँमा बिक्री नभएको सुन्तला कालीमाटी पठाउने गरेका छौँ’, उनले भने।
सामुदायिक फलफूल खेतीको लागि राज्यले विशेष अनुदान सहितको कार्यक्रम ल्याउनु पर्ने र त्यसमा किसानलाई उत्प्रेरित गर्नुपर्ने उनको सुझाव छ। त्यसो नगर्ने हो भने व्यावसायिक खेती विस्तार हुन नसक्ने उनले बताए।
सडक विस्तारसँगै बजार थप बढ्नेमा पेमासिं विश्वस्त छन्। त्यसैले उनी सुन्तला खेतीबाट सन्तुष्ट छन्। यति हुँदा हुँदै पनि युवा पुस्तालाई कृषिमा लगाउने कुरामा उनी निक्कै चुनौती देख्छन्।