असारसम्म ५५ सबस्टेसनको निर्माण र स्तरोन्नति गरिने
काठमाडौं, फागुन १० : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ०७५/७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नति गर्ने भएको छ ।
मुलुकबाट लोडस....

काठमाडौं, फागुन १० : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष ०७५/७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नति गर्ने भएको छ ।
मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणले जनाएको छ । त्यस्तै, ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने जनाएको छ ।
प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । तीन दिनयता निर्माण सम्पन्न भएका पाँच वटा सबस्टेसनको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका थिए । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । मन्त्री पुनले बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न भएका १३२/३३ केभी सबस्टेसनको उद्घाटन गरे ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका मन्त्री पुनले आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युत्लाई स्वदेशमै खपत गराउने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नति अभियानकै रुपमा संचालन भइरहेको बताए । “विगतमा विकराल लोडसेडिङका कारण हामी अंध्यारोमा थियौं, अहिले लोडसेडिङ अन्त्य भई उज्यालो हुँदा रमाइरहेका छौं, अब यसैमा रमाउने मात्रै हैन विद्युत खपत बढाउन उद्योग कलकारखाना खोल्नतर्फ लाग्नु पर्छ,” मन्त्री पुनले भने, “अहिले बिजुली दिनुहोस् भन्ने जनताको माग छ, अब यसको अन्त्य भई विजुली पर्याप्त खपत गरी उत्पादन बढाई जीवनयापनमा सुधार गर्नुहोस् भन्ने अवस्था आउँदैछ, यसका लागि विद्युत प्रसारण तथा वितरणका संरचना पनि सोही अनुसार बनाइरहेका छौं ।”
प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गर्दै मन्त्री पुनले भने, “समयमै सक्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने छौं, काम गर्नेलाई निर्माण कार्य छानी छानी दिने र त्यस्ता कम्पनीबीच नै ठेक्का प्रतिश्पर्धा गराउने छौं ।”
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सब स्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।
निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीति अनुरुप निर्माण गरिएको कुसुक (बाँके)–हापुरे (दाङ) १३२ कभी प्रसारण लाइन र १३२/३३ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ४३ करोड रुपैयाँ लगानी गरी निर्माण गरिएको आयोजनाबाट दाङमा संचालनमा रहेका र स्थापना हुने सिमेन्ट उद्योगले पर्याप्त विद्युत पाउने भएका छन् भने आम उपभोक्ताले गुणस्तरीय विद्युत प्रयोग गर्न पाउने छन् ।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत वितरण प्रणाली सुधार तथा विस्तारमा रहेको बताए । “यसबाट विद्युत्को पुहँच बढ्ने छ, विद्युत् आपूर्तिमा सुधार भई उपभोक्ताले गुणस्तरीय र विश्वसनीय विद्युत सेवा उपभोग गर्न पाउने छन् र उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन सक्नेछौं ।”
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन र विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन सबस्टेसन निर्माण तथा स्तरोन्नतिको काम देशभरी चलिरहेको जानकारी दिए । “हामीले चलाएको अभियानबाट एकातर्फ प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ भने अर्कोतर्फ उपभोक्तालाई मागेजति विद्युत् दिन सकिने छ,” उनले भने ।
प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
प्राधिकरणले जनकपुर, हेटौडा, चितवन, भैरहवालगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ । यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सकिने छ भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत आपूर्ति हुने छ ।











