सोमबार, भदौ ३०, २०७६

कञ्चनजंघाको काखमा लुट्पुटिँदा

कञ्चनजंघाको उत्तरी आधार शिविर पाङ्पेमाबाट देखिने कञ्चनजंघा हिमालहरु

उनको आँखामा आँखा जुधाएको पनि दुई ऋतु बितिसकेछन्। 

तर, अझै पनि इन्स्टाग्राममा उनको तस्वीर हेर्दा लाग्छ – म उनकै काखमा लडीबुडी खेल्दैछु! 

उनी अर्थात् कञ्चनजंघा, जसको सौन्दर्यले मलाई वर्षौ लठ्यायो। मुटुको कुनै कुनामा उनको माया खोपेर म वर्षौ काठमाडौंको कोलाहलमा हराएँ। 

बादलुको घुम्टोभित्र कन्चनजंघा हिमाल

आफ्नै आँखाले उनको निश्चल, शान्त र स्निग्ध रुपको दर्शन गर्न म दुई वर्षअघि दशैं–याममा ताप्लेजुङका अनकन्टार भीर–पहरा चाहार्दै थिएँ।

यात्रा सजिलो थिएन। जति माथि उक्लियो, पाइला चाल्न त्यति नै गाह्रो। जति पाइला चाल्यो, सास फेर्न त्यति नै साह्रो। 

तर, कञ्चनजंघाको काखमा पुग्दा भने मैले ती सारा दुःख र थकान बिर्सिएँ । म केबल उनको मोहिनी आँखामा डुब्न चाहन्थेँ। 

घुन्साबाट कञ्चनजंघा आधार शिविरसम्म यस्ता थुप्रै फड्केहरू छन्

त्यो क्षण आकाश नीलो थियो। निक्खर नीलो। आकाशमा बादलका सेता–मसिना धर्काहरू सर्सर गर्दै थिए। 

मैले एकटकले उनलाई हेरिरहेँ। आँखै नझिम्काई। त्यसबेला कसैले मलाई मायालु स्वरमा हपारे झै लाग्यो – मलाई भेट्न आउन यतिका वर्ष किन लायौँ?

कसको स्वर थियो त्यो? मैले मुन्टो घुमाएँ। वरपर कोही थिएन। के त्यो कञ्चनजंघाको स्वर थियो?

लोनाकमा बास बस्दा

— — —

म प्रायः प्रत्येक शरद ऋतुमा देश डुल्छु। फुर्सद मिल्यो कि ल्यापटप खोलेर नयाँ गन्तव्यबारे जानकारी बटुल्छु। 

ट्रेकिङ गर्न थालेदेखि नै मैले कञ्चनजंघालाई पुग्नैपर्ने गन्तव्यहरूको सूचीमा निकै माथि राखेको थिएँ।

तर, त्यता जाने आँट आइरहेको थिएन। किनकि, विश्वकै तेस्रो अग्लो हिमालको काखमा पुग्नु सजिलो छैन भन्ने मलाई थाहा थियो। 

लोनाकबाट आधार शिविरसम्मको बाटो

विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) भन्दा २६२ मिटरमात्रै होचो छ – कञ्चनजंघा (८,५८६)। विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) भन्दा त कञ्चनजंघा २५ मिटरमात्रै होचो छ। 

कञ्जनजंघा शिखर पुग्न चाहने आरोहीहरूले नेपाल सरकारबाट विशेष अनुमति लिनुपर्ने हुन्छ । त्यसैले, अन्य हिमालमा जस्तो यहाँ ग्वारग्वारती आरोहीहरू आउँदैनन्। आरोही र पदयात्रीहरू कम आउने भएकाले कञ्जनजंघा आधार शिविरसम्मको पदयात्रामा खाने–बस्ने सुविधाजनक होटलहरू पनि कमै छन्।

तर, मलाई कञ्चनजंघा नपुगी भएको थिएन। यसैले, २०७३ सालको दशैं टीकाको भोलिपल्ट म अन्य दुई साथीसँग कञ्चनजंघातिर लागेँ, काठमाडौंको कोटेश्वरबाट।

मुनि वेगले बगिरहेको तमोरमाथिको साँघुराे साँघुको साहाराले खम्बाचेनतर्फ बढ्दा

बिर्तामोडमा पहिलो रात बिताएपछि हामी टाटा सुमो जीप चढेर ताप्लेजुङको फुङलिङतिर लाग्यौँ। फूलैफूलले ढाकिएको फुङलिङको होटलमा फूल झै हाँसिरहने एक सहृदय दाइ भेटिए। दोस्रो रात त्यही बस्यौँ। ती दाइले हामीलाई भोलि बिहान थिवासम्म जाने जीप खोजिदिए।

थिवामा बिहानको खान खाएर हामी हिँडिहाल्यौँ। हाम्रा खुट्टाहरू पदयात्राका लागि आतुर थिए। तेस्रो रात सेकाथुम पुग्यौँ। यहाँबाट दुइटा बाटा छुट्टिन्छन्। एउटा बाटो चीनको सीमामा पर्ने ओलाङचुङ्गोला पुगिन्छ। हामीलाई चाहिँ अर्को बाटो हिँडेर कञ्चजनजंघाको उत्तरी आधार शिविर (५,१४३ मिटर) सम्म पुग्नु थियो।  र, त्यहाँबाट घुन्सा हुँदै ओरालो झरेर अलि पूर्व गई फेरि उकालो उक्लेर दक्षिणी आधार शिविर (४,५०० मिटर) समेत पुग्नु थियो।

ग्याब्ला नजिकै भेटिने यो ‘पिक्चर फर्फेक्ट’ झरना साँच्चै मनमोहक छ

चौथो दिन हामी बेलैमा अम्जीलोसा पुग्यौँ। त्यहाँबाट अघि बढ्ने समय पनि थियो। तर, हामीले त्यो रात त्यहीँ बस्ने निधो गर्‍यौँ। हाम्राे निर्णय सही सावित भयो। किनकि, पाँचौ रात हामीले फलेमा बास बस्न पायौँ। प्रायः पदयात्रीहरू फलेमा होइन, घुन्सामा बास बस्दा रहेछन्। घुन्सा अलि बजारजस्तो छ। फलेमा भन्दा अलि सुविधा पनि पाइन्छ। तर, फलेमा पाइने कुरा घुन्सामा पाइँदैन । त्याे हाे–सत्कार।

फलेमा झण्डै १५ घर तिब्ब्ती मूलका नेपाली बस्दा रहेछन्। दलाई लामाले तिब्बत छाडेपछि उनीहरूका बाजेबराजुहरू पनि शरणार्थीका रुपमा फले आएका रहेछन्। ढुङ्गा, माटो र काठले बनेका फलेका घरहरू निकै पुराना देखिन्छन्। हुन त फले नेपालकै एक बस्ती हो। तर, यो न नेपालजस्तो छ न तिब्बतजस्तो।

कञ्चनजंघाको उत्तरी आधार शिविर पाङ्पेमाबाट देखिने कञ्चनजंघा हिमालहरु

बाहिर दुनियाँसँग फलेवासीको खासै सम्पर्क छैन। उनीहरू आफ्नै खेतबारीमा अर्गानिक अन्न र सागसब्जी उमार्छन्। आफ्नै याकले दिने दूधबाट बनेका घिउ प्रयोग गरेर खानेकुरा बनाउँछन्।

२०६८ सालमा ताप्लेजुङ र सिक्किमको सीमालाई केन्द्रबिन्दु बनाई आएको भूकम्पले यस क्षेत्रमा ठूलै क्षति पुर्‍यायो। तर, फलेवासीलाई केही भएनछ। हामी बास बसेको होटलका दाइदिदीसँग राति अबेरसम्म अनेक विषयमा कुरा गर्‍यौँ । त्यहाँजस्तो सत्कार अन्त कतै पाइएन। 

कञ्चनजंघा ट्रेकमा जान चाहने पदयात्रीहरूलाई मेरो सुझाव छ – एक रात चाहिँ फलेमै बस्नुहोस्, नत्र यो पदयात्रा अधूरै हुन्छ।

खम्बाचेनमा रहेको पुरानो होटल । नुपुको ह्वाइट हाउस नामक यो होटल काटेर गएपछि अर्को होटल भेटिँदैन ।

भोलि बिहान एक घण्टा तेर्सो बाटो हिँडेपछि घुन्सा पुगियो। छैटौं रात हामी खम्बाचेन बास बस्न पुग्यौं। सातौ रात लोनाक। लोनाकबाट सखारै विहान हिँडेर कञ्जनजंघाको आधार शिविर पुग्यौँ। म त्यहाँ पुग्दा अरु कोही थिएनन्। मेरा दुई साथीहरू अलि पछि मात्रै त्यहाँ आइपुगे। 

उनीहरू नआउञ्जेल म कञ्चनजंघासँग एक्लै थिएँ। तस्वीरहरू खिचेँ। भिडियो लिएँ। ढुङ्गाको शीरानी लाएर आकाश छोएको कञ्चनजंघाको आँखामा एकटकले हेरेँ। हेरिरहेँ।

ढिलै भए पनि कञ्चनजंघाको काखमा लुटपुटिन पाएकोमा म धन्य भएँ। अलि पछि साथीहरू पनि आए। एक घण्टा त्यहाँ बसेपछि आकाशमा कालो बादल मडारिन थाल्यो। हेर्दाहेर्दै कञ्चनजंघा बादलको कालो घुम्टोभित्र पसिन्।

फलेमा बास बसेको होटल । यहाँ बर्षौदेखि तिब्बती मूलका नेपालीहरू बस्छन्, जो आफ्नै दुनियाँमा सुखी छन् ।

कञ्चनजंघासँग छुट्टिने मन थिएन। तर, उकालो चढेपछि ओरालो झर्नै पर्छ। हाम्रो उकालो यात्रा त्यहाँसम्म मात्रै थियो। अब ओरालो झर्नुपर्ने थियो।

हामी ओरालै ओरोलो लोनाक फर्कियौँ। त्यहाँ खाना खाइवरी खम्बाचेन झर्‍यौँ । त्यहाँबाट त झन् ओरालो। दक्षिणी आधार शिविर पनि पुग्ने सपना भने पूरा भएन।

अब फेरि कहिले कञ्चनजंघा पुगिएला? थाहा छैन। तर, कञ्चनजंघाका सुन्दर तस्वीरहरूले मलाई अझै पनि लठ्याउन छाडेका छैनन्।

— — — 

कञ्चनजंघा पदमार्ग । बास बसिएका ठाउँहरूको नाम बोल्ड गरिएका छन् ।

कसरी जाने ?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमा वा कोटेश्वरबाट बिर्तामोडसम्म गाडीमा। झापा पुगेपछि जिपमा ताप्लेजुङको फुङलिङ। त्यहाँबाट थिवासम्मै गाडी जाँदो रहेछ। तर, बाटो राम्रो छैन र गाडीमा मान्छे कोचिएको हुन्छ। ग्रेट हिमालयन ट्रेलले सिफारिस गरेको रुट अनुसार धेरै ठाउँ बास बस्दै जाने हो भने काठमाडौंबाट ११–१२ दिनमा मात्रै कञ्चनजंघाको उत्तरी आधार शिविर पुगिन्छ। तर, हामी काठमाडौं छाडेको सातौ रातमै त्यहाँ पुग्यौँ । बिर्तामोड र फुङलिङमा एक–एक रात बिताएपछि सेकाथुममा तेस्रो, अम्जीलोसामा चौथो, फलेमा पाँचौ, खम्बाचेनमा छैटौं र लोनाकमा सातौ रात (हेर्नूस् म्याप)। लोनाकबाट एकदुई घण्टामै आधारशिविर पुगिन्छ। तर, विहानै उकालो नलागे आधारशिविर पुग्दासम्म कञ्चनजंघा बादलले ढाकिएको हुन्छ।  

कति खर्च लाग्छ ?
गाडीबाट जाने हो भने अहिले पनि कञ्चनजंघा पुग्न एक जनाको २५ हजार रुपैयाँ जति मात्रै लाग्छ। जहाजमा जाने हो भने हवाई भाडा जोडेर हिसाब गर्नुहोस्।

के लैजाने ?
सकेसम्म हल्का तर न्यानो, हावा नछिर्ने लुगाहरू बोक्ने। सन स्क्रिन, टोपी, लट्ठी, पानीका बोतल र क्यामेरा जस्ता समानहरू लानुपर्छ भनेर त भन्नै परेन।

कहाँ के गर्ने ?
फलेमा बास बस्न नबिर्सनुहोस् । त्यहाँ तिब्बती मूलका नेपालीको पुरानो बस्ती छ, जहाँ अर्गानिक खाना र न्यानो सत्कार पाइन्छ । होटल छैन । घरहरू पुराना छन् । तर, बाक्लो डसनामा न्यानो सिरक खापेर सुत्न पाए अरु के चाहियो?   

यात्रा र फोटोग्राफीमा रुचि राख्ने मोहन दुवालका अन्य मनमोहक तस्वीरहरू हेर्न उनलाई इन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ । उनको इन्स्टाग्राम अकाउन्ट हो : @mohgraphy

(काठमाडौं प्रेसले नयाँ स्तम्भ ‘यात्रा’ सुरु गरेको छ। तपाईंहरूसँग पनि स्वदेश वा विदेश यात्राका रोमाञ्चक कथा र गज्जब तस्वीर–भिडियोहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ । हाम्रो इमेल ठेगाना हो – yatra@kathmandupress.com) 

 

 Published Date: Friday, 26th April 13:51:54 PM