बिहीबार, साउन २, २०७६

खप्तड : दूर रहेन सुदूरको सुन्दर स्वर्ग

| तस्वीर:किशोर खड्का

काठमाडौं – जता हेर्‍याे उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू। पर्सियन कार्पेट ओछ्याएझैं थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीविरङ्गी पुतलीहरू।

चारैतिर कलमी गरेझैं लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस। अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान।

डोटी, अछाम, बझाङ र बाजुराको संगम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन्। त्यही हरियो पाटनमा लडीबुँडी खेलिरहुँ झैं लाग्छ।

छिनमै वर्षात र छिनमै हिउँ।  केहीबेरमै मान्छे उडाउँला झैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम। र, अलि लम्किँदा छोइएला झैं लाग्ने हंसमुख हिमालहरू।खप्तड बाबाको कुटीकाे ठीक पछाडि उभिरहे झैं देखिने अपि र सैपाल हरदम हाँसिरहे झैं  लाग्छ।

प्राकृतिक सौन्दर्यले पूर्ण छ, खप्तड। यसलाई स्वर्ग भन्दा फरक पर्दैन।
 
सुदूरपश्चिम प्रदेशको सवैभन्दा आर्कषक गन्तव्य खप्तड घुम्न जानेहरुलाई लागि उपयुक्त समय यही हो। चैतदेखि जेठ र असोजदेखि मंसिरसम्म खप्तड घुम्ने उपयुक्त समय हो।


  
खप्तड क्षेत्र पर्यटकीय गन्तव्य मात्र होइन, खप्तड बाबाको आश्रम स्थल पनि हो। अझैं पनि कतिपय यायावरहरू यी तिलस्मी बाबाको रहस्य पहिल्याउन यो भूस्वर्ग पुग्छन्।
 
खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन। यसैले, पर्यटकहरू कमै पुग्छन्। तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो। यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्णप्रायः छ। लाग्छ – यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन्।  

खप्तडको त्रिवेणी मन्दिरवरपर २२ वटा पाटन छन्। खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको सो क्षेत्रमा पुग्न डोटी, अछाम, बझाङ र बाजुराका प्रवेशद्वारबाट एक दिन पैदल हिँड्नुपर्छ। चारवटै जिल्लाबाट जान सकिने भए पनि खासगरी बझाङ र डोटीबाट खप्तड जान पर्यटकलाई सहज हुन्छ।
 
अझ पछिल्लो समय बझाङको लामातोलासम्म कच्ची सडक पुगेकोले सो स्थानबाट खप्तड जान सहज हुँदै गएको छ। फर्किँदा डोटीको झिगंना हुँदै सिलगढी आउने गरेका छन्।

बाटोमा भेटिने विभिन्न जातका फूल र बोटबिरुवाले पनि खप्तड यात्रा निकै रोमान्चकारी बनाउँछ। खप्तड यतिखेर आफ्नो सुन्दरता हेरिदिने पर्यटकको पर्खाइमा छ।

सगरमाथा, अन्नपूर्ण र माछापुच्छे हिमाल हेर्न पैदल यात्राका लागि विदेशी पर्यटकहरु दिनहुँ नेपाल आउने गर्छन्, तर खप्तड हिम श्रृंखला मात्र नभएर थरीथरी फूलको भर्जिन ल्यान्ड हुँदा पनि उचित प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ।    

नेपालका थुप्रै स्थानमा मनोरम दृश्यको अवलोकन एवं अनुभव गर्न बर्सेनि हजारौं विदेशी पर्यटक लाखौं रूपैयाँ खर्चेर नेपाल आउँछन्। अझ पछिल्ला वर्षहरुमा बाह्य पर्यटकका लागि मात्र नभएर आन्तरिक पर्यटकका लागि रोमाञ्चकारी पदयात्रा र प्रकृतिका मनोरम दृश्यावलोकनका लागि नेपाल प्रसिद्ध हुँदै गएको छ। 

वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ। यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ। यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू निकै प्रख्यात छन्।  

पुराणअनुसार महादेवले खप्तडको जडीबुटी प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ। खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू सदियौंदेखि प्रचलित र प्रख्यात छन्। 

हरेक ज्येष्ठ शुक्लपक्षको गंगा दसहरा तिथिमा यहाँ ठूलो मेला लाग्छ। हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक पुग्छन् र त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्दछन्। 

समुद्र सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटर उचाइमा २ सय २५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो। यसलाई २०४१ सालदेखि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो। 

खप्तड त केवल गोठालाको चरिचरनमा मात्र सीमित छ। निकुञ्ज कार्यालयबाट पूर्जी काटी डोटी, अछाम, बझाङ र बाजुराका बासिन्दाहरू खप्तडको दहपाटन, बुकीदह, सेले भावर, डाँडामा अस्थायी गोठ (छाप्रा) हरू बनाएर चरिचरनका लागि बस्ने गर्दछन्।  

चैतदेखि असोज महिनासम्म उनीहरू आफ्ना लालाबालासहित खप्तडमै बस्ने गर्दछन्। कात्तिक महिनादेखि भने खप्तडमा निकै चिसो हुने हुँदा गोठालाहरू बस्तुभाउ र लालाबालासहित घर फर्कन्छन्। 

प्राकृतिक नागढुंगा, केदारढुंगा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔंले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ। डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो। 

३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ। पाटनहरू हिउँले सेताम्मे हुन्छन्। सानो हावाको झोंकामा पनि सुसेरा हालेझैं गर्ने रानीसल्ला, बाँच, नौरंगी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन्। चार रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा हो। 

नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ। प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन्। 

खस्रे भ्यागुता र बझांगे पा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन्। यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो। यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो।

कसरी जाने? 

काठमाडौं, नेपालगन्ज र धनगढीबाट सिधै बस चढेर बझाङको सदरमुकाम चैनपुर जान सकिन्छ। काठमाडौंबाट बसको सट्टा जहाजमा धनगढी वा नेपालगञ्ज गई त्यहाँबाट बस यात्रा गर्ने विकल्प पनि छ। चैनपुरबाट केही पक्की बाटो हँुदै ३२ किलोमिटर कच्ची सडक छिचोल्नुपर्छ। जसमा चैनपुुरबाट तमेल हँुदै लामातोल भन्ने स्थानसम्म गाडीमा जान सकिन्छ। 

होटलहरु नभए पनि लामातोलमा गएर थोरै पैसामा मिठो खान र बस्न सकिन्छ। भोलिपल्ट लामातोलाबाट झरेगाँउ, दाऊगाँउ, मेलतडी हुँदैै ९ घन्टाको पैदल यात्रापछि खप्तड पुग्न सकिन्छ। 

विगतमा खप्तडमा पुगेपछि बासबस्न खान समस्या हुने गरेको भए पनि अहिले भने केही सहज भएको छ। खप्तड विकास समितिले एकरातमा ३२ जनासम्म राख्न सक्ने गरी खान र बस्न सक्ने सुविधा दिन थालेको छ। जसको रकम पनि धेरै पर्दैन। जसको कारणले टुर प्याकेज बनाउन चाहनेहरुको लागि पनि सहज भएको छ। खप्तडमा टेन्ट लगेर पाटनमै सुत्न पनि सकिन्छ। तर चिसो बढी हुने भएकोले अहिले आवास गृहले सहज बनाएको छ। 

खप्तडमा कम्तीमा दुई रात विताउन सकियो भने मात्र खप्तडका मुख्य क्षेत्रहरु घुम्न सकिन्छ। खप्तडका सबै २२ वटा पाटनसहित ठाउँहरु घुम्नको लागि भने कम्तीमा ५ दिन लाग्ने गर्दछ। 

खप्तड घुमेर तेस्रो दिन भने डोटीको बाटो प्रयोग गरेर फर्कदा सहज हुने गरेको  छ। डोटीको बाटो फर्कदा कम्तीमा ४ घन्टा हिँडेपछि बीचपानीमा खाना खान सकिन्छ। 

त्यहाँबाट पुनः ४ घन्टाको हिडाइपछि झिग्राना पुग्न सकिन्छ। झिग्रानाबाट गाडी चढेर सिलगढीमा बास बस्न सकिन्छ। गाडी नपाए झिग्रानामै बास बस्नु पर्ने हुन्छ। भोलिपल्ट धनगढी गएर हवाई तथा सडक बाटो प्रयोग गरेर काठमाडौं आउन सकिन्छ।  

खप्तड कसरी पुग्ने?
– काठमाडौं–धनगढी हवाईजहाज 
– काठमाडौं–नेपालगन्ज हवाईजहाज
– नेपालगन्ज–अत्तरिया १ सय ५६ किलोमिटर मोटरबाटो (कालोपत्रे सडक)
– अत्तरिया–चैनपुर २ सय किलोमिटर मोटरबाटो (कालोपत्रे सडक)
–चैनपुर–लामातोला ३२ किलोमिटर कच्ची सडक 

खप्तडमा चाहिने
– स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, ऊनको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरु।  
– चिसो ठाउँ भएकाले चिसो छेक्ने बडी लोसन, भिक्स, पेट काटेको, खोकी र टाउको दुखेको औषधि, हेन्डी प्लास्ट।

न्यूनतम खर्च (रुपैयाँमा) 
काडमाडौं–धनगढी हवाईभाडा–१० हजार 
काठमाडौं–धनगढी गाडीभाडा–२५ सय  
धनगढी–चैनपुर गाडीभाडा–१ हजार 
चैनपुर–लामातोला गाडीभाडा–५ सय 
झिग्राना–सिलगढी–५ सय  
सिलगढी–धनगढी–५ सय 
धनगढी–काठमाडौं गाडीभाडा–२५ सय  
धनगढी–काठमाडौं हवाईभाडा–१०हजार 
खान र बस्नको लागि ७ रात ८ दिनको लागि करिव–२० हजार 
जम्मा खर्च गाडीबाट–३० हजार 
जम्मा खर्च जहाजबाट–४५ हजार   

 Published Date: Sunday, 12th May 20:06:39 PM