सोमबार, भदौ ३०, २०७६

गोसाईकुण्ड–हेलम्बू : छोटो, सस्तो तर अद्भूत पदयात्रा

गोसाईकुण्ड ताल

गोसाईकुण्ड भन्ने बित्तिकै धेरै नेपालीको मनका एक तीर्थस्थलको आकृति बन्छ, जहाँ हिन्दूहरू जनै फेर्न जान्छन्। तर, गोसाईकुण्ड धार्मिक थलो मात्रै होइन, प्राकृतिक सौन्दर्य र साँस्कृतिक अध्ययनको सङ्गम पनि हो। 

हिन्दूहरू आफ्ना आराध्यदेव शिवले त्रिशुल हानेर गोसाईकुण्ड सिर्जना गरेको विश्वास गर्छन्। त्रिशुली नदीको स्रोत पनि यही कुण्ड हो। जेठ–असारमा दसहरा मेला र साउनमा जनै पूर्णिमा मेला भर्न आउने तीर्थालुले गोसाईकुण्ड भरिभराउ हुन्छ। बौद्ध धर्मावलम्बीहरू पनि गोसाईकुण्डलाई पवित्रस्थल मान्छन्। गोसाईकुण्ड पदमार्ग र त्यस वरपर थुप्रै ठूला–साना गुम्बाहरू छन्।

गोसाईकुण्ड जेठ, असार र साउनमा धार्मिक उद्देश्यले जाने ठाउँ त हुँदै हो, सँगै हिमाल, जैविक विविधता र तामाङ सँस्कृति अवलोकन गर्ने मनोरम पदमार्ग पनि हो। 

गणेश हिमाल

गोसाईकुण्ड पदमार्गबाट मनास्लु (८,१५६ मिटर), गणेश हिमाल (७,६७५), लाङटाङ दुई (६,५८१), लाङटाङ लिरुङ (७,२१० मिटर) र तिब्बतमा पर्ने थुप्रै हिउँ चुचुराहरू देखिन्छन्।

पदमार्गमा बाँसका थुप्रै जङ्गलहरू छन्, जहाँ रेड पान्डा र बाँदरहरू देख्न सकिन्छ। सुन्दर सल्ला र लालीगुराँसको सौन्दर्यले पनि मन लोभ्याउँछ। गोसाईकुण्ड त रामसार सूचीमा समेटिएको यस क्षेत्रकै सबैभन्दा प्रसिद्ध र महत्वपूर्ण ताल भइहाल्यो, तर यहाँ अरु थुप्रै ठूला–साना तालहरू पनि छन्। बाटामा तामाङ बस्ती र तामाङ सँस्कृतिको पनि अवलोकन गर्न पाइन्छ। गुम्बा र देउरालीहरू त हुने नै भए।

गोसाईकुण्ड ताल

बसन्त ऋतु (चैत–वैशाख) गोसाईकुण्ड पदमार्गमा जाने सबैभन्दा उपयुक्त समय हो। यस बेला झरी पर्ने सम्भावना कम हुन्छ। बाटो चिप्लो हुँदैन। हिमालहरू खुलेका हुन्छन्। र, लालीगुराँसहरू पनि धपक्कै फुलेका हुन्छन्। गोसाईकुण्ड सुन्दरीजल हुँदै पनि जान सकिन्छ। तर, धेरै पदयात्रीहरू रसुवाको धून्चे हुँदै जान्छन् र हेलम्बु उपत्यका झर्छन्। हेलम्बु प्राकृतिक सौन्दर्य, साँस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिन्छ। 

धुन्चेबाट देउरालीतर्फ अघि बढ्दा देखिने दृष्य

बसन्त ऋतु अहिले उत्कर्षमा छ। गुराँसहरू फुलेका छन्। गोसाईकुण्ड पदयात्रा धेरै टाढा र खर्चिलो पनि छैन। एक साताको छुट्टी मिलाउने हो भने गोसाईकुण्ड पुगेर हेलम्बु हुँदै काठमाडौं फर्किन सकिन्छ। यस्तो अनुकूलता कहिले र कहाँ मिल्छ र? त्यसैले, आजभोलि नै गोसाईकुण्ड गइहाल्ने होइन त? 

कसरी जाने?
काठमाडौंबाट धून्चेसम्म बस यात्रा। ७–८ घण्टामै धून्चे पुग्न सकिन्छ।  धून्चेमा पहिलो रात बिताएपछि भोलि बिहानै गोसाईकुण्डतिर बढ्न सकिन्छ। दोस्रो रात चन्दनबारी। चन्दनबारीको स्थानीय नाउँ हो – सिङ्गोम्पा। यहाँ राम्रा होटलहरू छन्। यहाँको चिज धेरै प्रसिद्ध छ।

लौरीविनायकबाट देखिने मनोरम हिमालका दृष्य

तेस्रो दिन गोसाईकुण्ड पुगिन्छ। गोसाईकुण्डमै टेन्ट गाडेर बस्दा पनि हुन्छ। नत्र, लाउरी बिनायक गई बस्ने। त्यहाँबाट कतिपय पैदलयात्रीहरू स्याब्रुतिर लाग्छन्। तर, त्यहाँबाट हेलम्बुतिर गए झन् धेरै विविधता देखिन्छ। चौथो रात ठाठेपाटी। र, पाँचौ रात तिम्बु। त्यहाँबाट काठमाडौं फर्किने गाडी पाइन्छ। 

कतिपय पैदलयात्रीहरू सुन्दरीजल हुँदै गोसाईगुण्ड गई स्याबु्र वा धून्चेतिर लाग्छन्। कतिपय स्याब्रु हुँदै लाङटाङ र क्याञ्जिन गुम्बा गई गोसाईकुण्ड पुग्छन्। राजाई आ–आफ्नै।

गोसाईकुण्ड नजिकैको मनोरम झरना

के लाने?
डाउन ज्याकेट, थर्मल, हाफ पैन्स, न्यानो तर हलुङ्गा लुगाहरू, ट्रेकिङ जुत्ता, सन ग्लास, स्टिक, पानीका बोतल र चकलेटहरू।

खर्च
दिनमा औसत दुई हजार रुपैयाँ खर्च गरे पुग्छ। जम्मा पैसा कति बोक्ने भन्ने चाहिँ कहाँ–कहाँ जाने र यात्रा कति दिन लम्ब्याउने भन्नेमा भर पर्छ।

गोसाईकुण्ड

तासी देलेकः १६ वर्षअघि र पछि

जतिपटक गोसाईकुण्ड जाँदा पनि यो पदयात्रामा फेरि पनि जाऊँ झैं लाग्छ। म पहिलोपटक सन् २००० मा गाेसाईकुण्ड जाँदा ठाडेपाटीमा तासी देलेक होटल सञ्चालन गर्ने परिवारसँग एउटा तस्वीर खिचेको थिएँ। १६ वर्षपछि सन् २०१७ मा गोसाईकुण्ड जाँदा मैले त्यो फोटो साथै बोकेको थिएँ। मलाई त्यही ठाउँमा त्यही परिवारसँग त्यस्तै फोटो खिच्नु थियो। तर मलाई थाहा थिएन – त्यो होटल त्यहाँ छ कि छैन ! त्यो परिवार अन्तै बसाइ पो सर्‍याे कि!

त्यो होटल भेट्टाउन निकै मुश्किल पर्‍यो। २०७२ साल वैशाखको भूकम्पले धेरै पुराना घरहरू भत्काएको रहेछ। नयाँ घरहरू ठडिएका रहेछन्। तर, तासी देले होटल चाहिँ भेटियो।

सन् २००० मा गोसाईकुण्ड पदयात्रामा जादाको ठाडेपानीमा रहेको होटल टासी डिलेक

 

सन् २०१७ मा गोसाईकुण्ड पदयात्रामा जादाको ठाडेपानीमा रहेको होटल टासी डिलेक

होटलवाला दाइ र दिदीहरू पनि उस्तै रहेछन्। त्यसबेला होटलवाली दिदीको काखमा रहेको बालक ठूलो भइसकेको रहेछ। तर, होटलको बोर्ड चाहिँ हावाले उडाएर कान्लामुनि पुर्‍याएको रहेछ। म र मेरा साथीहरूले त्यो बोर्ड टिपेर ल्यायौं। र, पुराना फोटो खिच्दा जो जो जसरी बसेका थिए, त्यसरी नै बसेर नयाँ फोटो खिचियो। पुराना फोटामा भएका केही साथीहरू सँगै थिएनन्। उनीहरूका सट्टा अरुलाई त्यस्तै गरी बसाइयो।

यो एउटा रमाइलो अनुभव थियो।

यात्रामा  लिइएका अन्य तस्वीरहरु–

भैरबकुण्डको मनोरम दृष्य

(काठमाडौं प्रेसले नयाँ स्तम्भ ‘यात्रा’ सुरु गरेको छ। तपाईंहरूसँग पनि स्वदेश वा विदेश यात्राका रोमाञ्चक कथा र गज्जब तस्वीर–भिडियोहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ । हाम्रो इमेल ठेगाना हो – yatra@kathmandupress.com) 

 Published Date: Friday, 26th April 13:51:46 PM