बिहीबार, साउन २, २०७६

सगरमाथा : सके आरोहण, नसके पदयात्रा

| तस्वीर:रमेश पाेख्रेल

काठमाडौं, वैशाख ६ :  विभिन्न देशका आरोहीहरू सगरमाथा चढ्न अहिले धमाधम आधार शिविरतर्फ गइरहेका छन्। यसपटक १२ नेपालीसहित ३४७ नयाँ–पुराना आरोहीले विश्वको सर्वोच्च शिखर चढ्ने अनुमति लिएका छन्।

सगरमाथामा हरेक वर्ष नयाँ–नयाँ रेकर्डहरू बन्छन्। यसपटक पनि नयाँ र रोचक रेकर्डहरू बन्ने नै छन्। गत साल सर्वाधिक २२ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान रचेका कामीरिता शेर्पा यस पालि २३ औं आरोहणको तयारीमा छन्। 

२०७१ सालको हिउँ पहिरोमा परी ज्यान गुमाएका छिरिङ वाङ्चुककी श्रीमती निमा डोमा र २०७० सालमा सगरमाथाको चुचुरो चढ्ने बाटो बनाउँदा बनाउँदै चिप्लिएर लडी मृत्यु भएका आइसफल डाक्टर मिङ्मा शेर्पाकी श्रीमती फुर्दिकी शेर्पा पनि कीर्तिमानी आरोही कामीरिता शेर्पासँगै विश्वको सर्वोच्च शिखर चढ्दैछन्। 

यसपालि नेपाल आफैंले पहिलोपटक सगरमाथाको उचाई पनि यकिन गर्दैछ। सगरमाथाको उचाई ८,८४८ मिटर रहेको मानिए पनि कतिपय सर्वेहरू त्यसविपरीत नतिजा देखाएका छन्। २०७२ सालको भूकम्पले सगरमाथाको उचाई केही इञ्च घटाएको मान्ने वैज्ञानिकहरू पनि छन्। 

२५६२ मिटेर उचाईमा रहेको तेन्जिङ हिलारी विमानस्थल, लुक्ला

यसैले, नेपाल सरकारको एक प्राविधिक टोली सगरमाथाको वास्तविक उचाई यकिन गरेरमात्रै काठमाडौं फर्किने गरी आधार शिविर पुगिसकेको छ। 

तर, यसपालि मनसुन लाग्नुअघि नै धेरै वर्षा भइरहेको छ। हुरीबतास पनि निकै चलिरहेको छ। नेपालमा यसअघि कहिल्यै नआएको टोर्नाडो पनि यसैपालि आयो। यसैले, यो वर्ष सगरमाथाको चुचुरो पुग्ने अनुकूल मौसमअवधि (वेदर विन्डो) एकदमै छोटो हुने अनुमान छ।

नाम्चेको उकालोमा भेटिएको चरा

सगरमाथा आरोहणका लागि अनुकूल मौसम–अवधि छोटो हुने अनुमान गरिएको भए पनि सगरमाथा पदयात्राका लागि भने यो वसन्त ऋतु पनि निकै उपयुक्त देखिन्छ। अभिनेत्री मनिषा कोइराला पनि जीवनमै पहिलोपल्ट सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेर फर्केकी छिन्। अन्य थुप्रै सेलेब्रेटीहरू पनि अहिले खुम्बु क्षेत्र घुम्दैछन्। 

मनिषा कोइरालाले सगरमाथा आधार शिविरलाई ‘पृथ्वीको स्वर्ग’ भनेकी छिन्। तपाईं पनि पृथ्वीको स्वर्ग घुम्न जाने होइन त? 

कसरी जाने?
सगरमाथा क्षेत्रमा आफूलाई अनुकूल पर्ने गरी छोटो तथा लामो पदयात्रा गर्न सकिन्छ। सबैभन्दा छोटो पदयात्रा स्याङबोचेसम्म हुन सक्छ। मध्यम दूरीको पदयात्रा गर्न चाहे गोक्यो तथा ‘गोक्यो री’सम्म गर्न सकिन्छ। सगरमाथा आधार शिविर तथा कालापत्थर सगरमाथा क्षेत्रको सबैभन्दा लामो पदमार्ग हो।

स्याङ्बोचे र गोक्यो सगरमाथा आधार शिविर तथा कालापत्थर जाने बाटोमै पर्छ। छोटो अवधिको यात्रामा निस्केकाहरू बाटोबाटै फर्किन्छन् भने लामो यात्रा गर्नेहरु कालापत्थरसम्म पुग्छन्। 

३४४० मिटेर उचाईमा रहेको नाम्चे बजार

काठमाडौंबाट कालापत्थर पुगेर फर्किन करिव १७ दिन लाग्छ। स्याङबोचेसम्मको पदयात्रा ६ दिनको हुन्छ। काठमाडौंबाट लुक्ला एक दिनमा पुग्न सकिन्छ। दोस्रो दिन नाम्चे हुँदै तेस्रो दिन स्याङ्बोचे पुग्न सकिन्छ। चौथो दिन मोञ्जो, पाँचौं दिन लुक्ला हुँदै छैठौं दिन काठमाडौ फर्किन सकिन्छ।

गोक्योसम्मको पदयात्रा अलि लामो हुनेछ। काठमाडौंबाट हिँडेको छैठौं दिन गोक्यो र सातौं दिन ‘गोक्यो री’ पुगिन्छ । गोक्यो स्याङबोचेबाट डोले, मचेर्मो हुँदै जानुपर्छ । गोक्यो रीबाट बिहान डोले वा फोर्चे, नाम्चे, लुक्ला हुँदै काठमाडौं फर्किइन्छ।

थाम्बुबाट पेम्बोचे जाने बाटोको

गोक्यो री करिब ५ हजार ३६८ मिटर उचाइमा पर्छ। यहाँबाट सगरमाथा लगायतका सेता गगनचुम्बी हिमालहरु अवलोकन गर्न पाइन्छ। यसबाहेक यहाँ पुग्दा बाटो निकै आकर्षक र मनमोहक दृश्यहरु देख्न सकिन्छ।

आधार शिविरको उचाई ५३ सय ८४ मिटर रहेको छ । यहाँबाट सगरमाथा नजिकै देख्न सकिन्छ। सगरमाथा आरोहीहरू पनि यही विन्दूबाट आरोहण सुरु गर्छन्। कालापत्थर आधार शिविरभन्दा उचाईमा पर्छ । आधार शिविर पुगेको दिन नै गोरेखसेप फर्किएर बास बसी बाह्रौं दिन बिहानै सूर्योदय हेर्न कालापत्थर पुगिन्छ। यहाँ पुगेपछि यात्रा सकिन्छ।

५५४५ मिटर उचाईमा रहेको गोरख सेप

सोही दिन कालापत्थरबाट गोरेखसेप फर्किएर दिउँसोको खाना खाई काठमाडौंतिर फर्किन सुरु हुन्छ। तेह्रौं दिन डिङबोचे र फेरिचे, चौधौं दिन तेङ्बोचे, पन्ध्रौं दिन नाम्चे, सोह्रौं दिन लुक्ला हुँदै सत्रौं दिन काठमाडौं आइपुगिन्छ। 

१७ दिनको यात्रामा विभिन्न ठाउँमा टी हाउस, होटल तथा लजहरु रहेका छन्। खान बस्न कुनै समस्या हुँदैन। कतिपय ठाउँमा लज नभए वा भरिभराउ भएमा पाल टाँगेर बस्न सकिन्छ। यसरी १७ दिनको यात्रा गर्दा विदेशी पर्यटकले ३५ सयदेखि ४०००  डलरसम्म खर्च गर्नुपर्ने हुन्छ। नेपालीको हकमा भने खर्च केही कम लाग्छ। छोटो पदमार्गमा आधा खर्चमै यात्रा गरेर फर्किन सकिन्छ।

तेङ्बोचे गुम्बा
तेङ्बोचेबाट बिहानीपखको सूर्योदय हेर्न सकिन्छ। ४ हजार मिटर अग्लो ठाउमा रहेको तेङ्बोचे गुम्बा त्यत्तिकै आर्कषक ठाउँ हो। तेङबोचेबाट अर्को गन्तब्य पाङ्बोचे हो। पाङबोचेबाट अर्का बास बस्न दिङबोचे वा फेरिचे पुग्न सकिन्छ।

सानो तर सुन्दर करिब ६ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने र छुकुङ भ्याली हेर्ने हो भने दिङ्बोचे बास बसेर भोलिपल्ट उतातिर उक्लिन सकिन्छ । आमालाप्चा पास गरेर मकालु उपत्यका जान पनि सकिन्छ। 

५ हजार मिटर उचाइको लोबुचेबाट अर्को गन्तब्य गोरखसेप हो। सगरमाथाको अन्तिम मानव बस्ती हो, गोरखसेप। पाँच हजार दुई सय मिटरमा रहेको गोरेखसेपमा होटल लजको सुबिधा छ। सगरमाथामा पर्यटकले चाहे जस्तो सुबिधा पाउँछन्। 

६१८९ मिटर उचाईमा रहेको आइसल्याण्ड पिक बेस क्याम्प

कालापत्थर
गोरखसेपबाट ५ हजार ६ सय मिटर उचाइको कालापत्थरतिर लम्किने वा आधार शिबिरतर्फ लाग्ने? कालापत्थर र सगरमाथाको सम्बन्ध आँगन र घरको धूरीको जस्तो छ। आँगनबाट धूरीतर्फ हेरे झैं सगरमाथालाई हेर्ने धोको कसको हुँदैन र? सबैको धोको कालापत्थरले मेटाइ दिन्छ।

हिमालयमा भगवानले वास गरेको विश्वास गर्ने शेर्पाहरूको भनाइलाई पैंचो लिएर भन्ने हो भने तपाईंको भाग्यमा छैन भने यहाँ लाख कोशिस गर्दा पनि सहजै उपलब्ध हुने कुराहरू नै दुर्लभ बनिदिन्छन्।  कालापत्थरबाट देखिने हिमाली दृश्यको वर्णन शब्दमा उल्लेख गर्नुभन्दा भ्रमण गरेर वास्तविक अनुभव गर्नु जाती हुन्छ।

 Published Date: Friday, 26th April 13:51:11 PM