मंगलबार, जेठ ७, २०७६

हिमलुङमा हराउँदा थाहा पाएँ-स्वर्ग हुँदो रहेछ!

काठमाडौं, चैत २३ : स्वर्ग हुन्छ कि हुँदैन? हुन्छ भने कस्तो हुन्छ? मलाई थाहा छैन।

तर, स्वर्ग शान्त, शीतल र मनोरम हुन्छ भने म त्यहाँ अवश्य पुगेको छु। मनासुलु क्षेत्रमा पर्ने हिमलुङ हिमाल चढ्दा मलाई प्रत्येक क्षण स्वर्ग पुगेको अनुभूति भयो।

लाग्यो – स्वर्ग कतै छ भने त्यो यहीँ छ। यही हिमाल स्वर्ग हो! यो हिमाल स्वर्ग होइन भने जेलाई स्वर्ग भनिएको हो, त्यो पनि यो जति सुन्दर नहोला!

हिमालबारे खासै थाहा नहुनेहरू सगरमाथा चढ्नुलाई सबैभन्दा अप्ठेरो आरोहण ठान्छन्। तर, सगरमाथा त अहिले एउटा राजमार्ग झैं बनिसकेको छ! जसले पनि गाडी कुदाउन सक्ने, जसले पनि चढ्न सक्ने !

सगरमाथाभन्दा अप्ठेरा हिमालहरू धेरै छन्। त्यसमध्ये एक हो – हिमलुङ । यो हिमाल सगरमाथा जत्तिकै अग्लो छैन। विश्वका १० उच्च हिमालको सूचीमा पनि पर्दैन। 

तर, सदियौंदेखि नेपाल र तिब्बतको सीमा–स्तम्भको रुपमा उभिएको हिमलुङ चढ्नु निकै चुनौतीपूर्ण छ। किनकि, यहाँ सगरमाथा वा अन्य प्रसिद्ध हिमालमा झैं बनिबनाऊ बाटाहरू छैनन्। बाटो आफैं खोज्दै, बनाउँदै, डोरी टाङ्दै उक्लिनु पर्छ।

आधार शिविरसम्मको पदयात्रा पनि निकै चुनौतीपूर्ण छ। ढुङ्गे अक्कर खोपेर बनाइएको साँघुरो बाटोमा याकहरू समेत चिप्लेर लड्छन्। हाम्रै आरोहण दलको सामान बोकिरहेको एउटा याक पनि चिप्लेर लडी मरेको थियो।

तर, हिमलुङ जस्तो हिमाल चढ्न त यति खतरा त मोल्नै पर्‍यो नि!  

काठमाडौंबाट करिब १४ दिन लामो यात्रापछि हिमलुङ आधार शिविर पुग्न सकिन्छ। यो हिमाल काठमाडौंबाट १५० किलोमिटर उत्तरपश्चिम छ। मनासुलुबाट चाहिँ उत्तरपश्चिममा पर्छ। 

७ ,१४० मिटर (२३,४२५ फिट) उचाइ भएको हिमलुङ चढ्ने पहिलो आरोही हुन् – जापानी नागरिक निमजुङ। उनले सन् १९८३ को अक्टोबर महिनामा यो हिमाल चढेका थिए। नेपाल सरकारले भने सन् १९९२ मा यो हिमाल खुल्ला गरेको थियो। 

अन्नपूर्ण फेरोमा पर्ने कोटोबाट नुपुगाउँ हुँदै हिमलुङको आधारशिविर पुग्न सकिन्छ। 

पहिलो दिनको यात्रा काठमडौंबाट लमजुङको बेशीसहरसम्म हुन्छ। दोस्रो दिन कोटोबाट हिँडेर मेटा पुगिन्छ। तेस्रो दिन मेटाबाट क्याङ र चौथो दिन क्याङबाट क्याग गाउँ पुगेर एक दिनका लागि आराम गर्ने गरिन्छ।

छैटौं दिन पु गाउ पुगिन्छ। भोलिपल्ट फेरि क्याम्प लगाएर बास बस्ने गरिन्छ। उच्च हिमाली क्षेत्रमा लेक लाग्नबाट बच्न धेरै आराम गर्नुपर्ने भएकाले ठाउँठाउँमा विश्राम गर्ने गरिन्छ। आठांै दिन पु गाउबाट हिमलुङ हिमालको आधार शिविर पुगिन्छ।  

केही दिनको आरामपछि हिमलुङको आरोहण गर्ने तयारी सुरु गरिन्छ। हिमाल चढ्नु ठिक एक दिन पहिले शेर्पाहरुले हिमालको पूजा गर्छन्। भोलिपल्ट राति करिब १२ बजेपछि फेरि हिमाल आरोहण सुरु गरिन्छ। आधार शिविरबाट हिँडेर बिहानको ६ बजे क्याम्प एक पुगिन्छ। त्यहाँ एक दिन बसी पुनः राति करिब सात–आठ बजे क्याम्प २ जाने तयारी सुरु गरिन्छ। यस्तै गर्दै क्याम्प तीन र चार पुग्ने गर्छन्।

अन्तिम दिन हिमाल आरोहण सम्पन्न गरी सोही बाटो हुँदै फर्किन सकिन्छ। 

पहिलो दिन
काठमाडौंबाट गाडीमा बेशीशहर (७६० मि)
दोस्रो दिन 
बेशीशहरबाट गाडीमा कोटा (२६०० मि)                                              
तेस्रो दिन 
कोटाबाट हिँडेर मेटा (३५६० मि)                                                                    
चौथो दिन
मेटाबाट हिँडेर क्यागङ (३८४० मि)
पाँचौ दिन आराम                      
छैटौं दिन 
क्यागङबाट हिँडेर पु गाउ (३९०० मि) 
सातौं दिन आराम
आठौं दिन
पु गाउँबाट हिँडेर आधार शिविर (४९०० मि)                                                        
आधार शिविरमा केही दिन आराम गरेपछि हिमलुङ हिमालको चुचुरो सम्म  (७१२६ मि)

उच्च क्षेत्रको प्रभाव
उच्च क्षेत्रमा जाँदा हाई अल्टिच्यूड सिकनेस हुन्छ, जसलाई स्थानीय लवजमा लेक लाग्नु भनिन्छ। साना गल्ती वा हेलचेक्र्याइँ गर्दा पनि गम्भीर रुपमा बिरामी परिन्छ। कसैको त मृत्युसमेत हुन्छ । तर, होशियारी अपनाए लेक लाग्नुबाट बच्न सकिन्छ। 

लेक लाग्नुका लक्षणहरु  
टाउको दुख्नु 
वाकवाकी लाग्नु 
वान्ता (उल्टी) हुन
थकित र शिथिल हुनु
खानामा रुची घट्नु 
चक्कर लाग्नु 

आवश्यक सामग्रीः
न्यानो कपडा (गलबन्दी, पन्जा, मोजा, स्वेटर, मास्क र टोपी)

यात्राका लागि जंक फुड्स (चिप्सहरु, चकलेट्स, दालमोठ, चाउचाउ) र मिनिरल वाटर 

पावर बैंक (क्यामरा र फोनको ब्याट्री बचाउन जरुरी छ, हाइ क्याम्पसम्म बत्ती पुगे पनि चार्ज गर्ने ठाउँ पाउन गाह्रो हुन सक्छ)

आवश्यक औषधीहरु (निम्स, सिटामोल, ब्यान्डेज), लसुन अदुवालाई प्लास्टिकमा पोको पार्न पनि सकिन्छ। 

अनुहारका लागि सन स्क्रिन, हात खुट्टाका लागि लोसन र ओठका लागि चिपिस्टक (हावा र घामले अनुहार बिग्रन सक्छ)

भिडियाे रिपाेर्ट

(काठमाडौं प्रेसले नयाँ स्तम्भ ‘यात्रा’ सुरु गरेको छ। तपाईंहरूसँग पनि स्वदेश वा विदेश यात्राका रोमाञ्चक कथा र गज्जब तस्वीर–भिडियोहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ । हाम्रो इमेल ठेगाना हो – yatra@kathmandupress.com) 

 Published Date: Friday, 26th April 13:51:34 PM