मंगलबार, असोज १३, २०७७

कोरोनाको श्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

काठमाडौं, असार ३० : कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निीले सोमबार पुष्टि गरेका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने जानकारी दिए ।

“उनीहरुले हाम्रा विज्ञहरुसँग सम्वन्धित विषयमा प्रश्नहरु गर्नेछन् र हाम्रा विज्ञहरुले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भने। डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरुले यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने उनले बताए ।

“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरुमा धेरै चरण पुरा गर्नु परेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरुका बारेमा पहिचान गर्न उनीहरु आएका हुन,” उनले भने ।  

कोरोनाभाइरस पहिलो पटक गत बर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड–१९ को महामारी फैलिएको थियो । 

 Published Date: Tuesday, 14th July 2020 12:59:37 am