सोमबार, असोज २७, २०७६

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

भूकम्पले क्षतिग्रस्त संरचना।

काठमाडौं, असार २० : अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ।

क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ। उक्त स्थान क्यालिफोर्नियाको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ।

अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको बताएका छन्। अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको छ।

गएको करिब दुई दशकयताकै शक्तिशाली मानिएको यस भूकम्पबाट भएको हुनसक्ने भौतिक तथा मानवीय क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।
अमेरिकी सञ्चारमाध्यमहरुले नै भौतिक या मानवीय क्षतिको बारेमा कुनै जानकारी प्राप्त नभएको जनाएका छन्।

क्यालिफोर्नियामा सन् १९९९ पछि यो पहिलो पटक यति शक्तिशाली भूकम्प आएको जनाएको छ।  भूकम्पको केन्द्रविन्दु रहेको रिजक्रेस्ट क्यालिफोर्निया राज्यको दक्षिणी भूभागमा पर्छ। करिब ६.६८ किलोमीटरको गहिराईमा भूकम्पको केन्द्रविन्दु रहेको पत्ता लागेको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ।