मंगलबार, जेठ २०, २०७७

एकै दिनमा विश्वभर झण्डै एक लाख कोरोना संक्रमित थपिए

काठमाडौं, जेठ ८ : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ५० लाख ८५ हजार ५०४  जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९९ हजार ७२४ जना नयाँ कारोना संक्रमित थपिएको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टाको आंकडा अनुसार ब्राजिलमा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् । बुधबार ब्राजिलमा २१ हजार ६७२ जना मानिस संक्रमित भएका हुन् । यो २४ घण्टामा संक्रमित थपिनेको संख्या कोरोनाको हब बनेको अमेरिकाको भन्दा पनि धेरै हो । बुधबार अमेरिकामा २१ हजार ४०८ जना मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर३ लाख २९ हजार ७ सय ३१ जनाले ज्यान गुमाईसकेका छन् ।

संक्रमणबाट हालसम्म अमेरिकामा करिब ९५ हजार र ब्राजिलमा १८ हजार ८९४ जनाले ज्यान गुमाईसकेका छन् । इटालीमा २ लाख २७ हजार ३ सय बढी संक्रमित र ३२ हजार ३ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८१ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार १ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७९ हजार ५ सय बढी कोरोना संक्रमित मध्ये करिब २७ हजार ९ सयको मृत्यु भएको छ । रसियामा ३ लाख ८ हजार ७ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ९ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ नाघ्दा ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ ।

 Published Date: Thursday, 21st May 07:58:52 AM