शुक्रबार, साउन ३०, २०७७

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

काठमाडौं, असार ६ : नाइजेरियामा बलात्कार तथा लैङ्गीक हिंसा विरुद्धको राष्ट्रिय अभियान शुरु गर्न लागिएको छ । सूचना तथा संस्कृति मन्त्री लाइ मोहम्मदले बिहीबार देशव्यापी अभियानको शुरुवात गर्न लागिएको जानकारी दिए ।

कोरोनाभाइरसका कारण उत्पन्न महामारीकै बेलामा पनि बलात्कार र लैङ्गीक हिंसा सम्वन्धी धेरै घटनाहरु भएकाले अभियान शुरु गर्नु परेको उनको भनाई छ । यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्युनिकरणका लागि धेरै क्रियाकलापहरु गर्ने सरकारले तयारी गरेको मन्त्री मोहम्मदले बताए । महामारी चलिरहेको यस अवस्थामा जनवरीदेखि मे महिनासम्मको अवधिमा ७१७ ओटा बलात्कारका घटना दर्ता भएको उनले जानकारी दिए ।

नाइजेरियाका प्रहरी प्रमुख मोहम्मद अडामुले पनि ७१७ ओटा बलात्कारका घटनामा संलग्न भएको आरोपमा ९७७ जनालाई पक्राउ गरिएको गत सोमबार नै सार्वजनिक गरेका थिए । सूचना मन्त्रीले भने अहिले शुरु गर्न लागिएको अभियान अन्तर्गत विषेश गरी हिंसा तथा बलात्कारजन्य घटना हुन नदिनका लागि चेतनामुलक कार्यक्रमहरु बढी गरिने जानकारी दिए ।

यस अभियानका लागि सूचना तथा संस्कृति मन्त्रालयले महिला मामिला मन्त्रालयसँग पनि सहकार्य गर्ने उहाँले जानकारी दिए । 
 

 Published Date: Saturday, 20th June 08:52:48 AM