मंगलबार, चैत्र १८, २०७६

तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्द

हुम्ला, फागुन ५ : हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ ६ महिनादेखि बन्द रहेको छ।

साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको एक लाख रुपैयाँबाट जग्गा खरिद गरी भवन बनाएका थिए ।  २०७२  सालमा सो एकाइ सञ्चालनमा आएको थियो । 

स्थानीय पर्वल बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव नौ सय स्थानीयको पाएक पर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएकोमा अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताए । 

एकाइमा एक÷एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा विरामी समस्यामा परेका छन् । 

एकाइमा दैनिक १०÷१२ जना बिरामी उपचारमा जाने गर्दथे ।  स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए । घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको हेरेर घर फर्कनुपरेको छ, बिरामी जोरसिंह बोहराले भने । 

६ महिनादेखि तलब नपाएपछि एकाइ बन्द 

एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारी बताउँछन् ।

उनका अनुसार  सिमकोट गाउँपालिकाले स्वास्थ्यकर्मीलाई तलब खुवाउने गरेको थियो । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवा विभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन नसकिने बताएपछि एकाइ बन्द हुन पुगेको हो । 

 Published Date: Monday, 17th February 11:15:40 AM