मंगलबार, असार ३, २०७६

मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखरामा अघि बढाइँदै

काठमाडाैं, जेठ २६ : निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको मेलम्ची खानेपानी आयोजना समस्या देखिए पनि सरकारले पर्यटकीय राजधानी कास्कीलाई केन्द्रमा राखेर बृहत् खानेपानी आयोजना अगाडि बढाउने भएको छ। 

खानेपानी मन्त्रालयले कास्कीमा अगाडि बढाउन लागेको सो परियोजनालाई मेलम्ची पछिको सबैभन्दा ठूलो आयोजनाको सङ्ज्ञा दिएको छ। पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ। खानेपानीमन्त्री बीना मगरले आयोजनाको शिलान्यास जेठ २८ गते गर्ने कार्यक्रम तय भएको छ। 

मन्त्रालयले उपत्यका बाहिर शुरु गर्न लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्चीपछि मन्त्रालयको खानेपानीको क्षेत्रमा शुरु हुन लागेको यो दोस्रो ठूलो आयोजनाका रुपमा अर्थ्याएको छ। आयोजनाले पोखरा महानगरपालिका क्षेत्रभित्र दैनिक चार लाख ५० हजार उपभोक्ता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्। 

आगामी तीन वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पोखरामा खानेपानी सुधार आयोजना शुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड अनुदान दिने सम्झौता यसअघि नै भएको छ। सोही सम्झौताअनुसार खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको हो।  

जापानले दिएको कूल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा भौतिक निर्माण  कार्यका लागि जापानमै बोलपत्र गरिएको थियो। उक्त बोलपत्रमा हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो। हाजमा कम्पनीसँग संस्थानले गत फागुन २४ गते सम्झौता गरेको थियो। हाजमा कम्पनीले तीन अर्ब  ९४ करोड २७ लाखमा उक्त कामको ठेक्का पाएको छ।  

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा भूपेन्द्र प्रसादले जानकारी दिए। अनुदान रकम पानी शुद्धीकरणका लागि शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुनेछ। 

यस्तै खानेपानी आपूर्तिका लागि कूल १०० किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए। खानेपानी भण्डारण गर्न २० लाख लिटरको तीन वटा रिजर्भवायर पानी ट्याङ्की निर्माण गरिनेछ।

 Published Date: Sunday, 9th June 19:55:58 PM