मंगलबार, मंसिर १६, २०७७

बागलुङमा कोरोना फैलन नदिन आवतजावतमा कडाइ

बागलुङ, असार १५ : क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ। गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ। एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए। अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारी साधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ।

क्वारेन्टाइन बाहिर रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो। गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ। क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको जनाइएको छ। गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ।

गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ। शनिबार साँझ वडा नं. ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मीसहित खाना पु¥याउने महिला र उनका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ। तत्काल ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। उनका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो। 

यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता भेटिएका सबै संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। जिल्लामा हालसम्म १७९ जनामा कोरोना संक्रमण देखिएको छ  निको हुनेको सङ्ख्या २४ छ। 

 Published Date: Monday, 29th June 2020 6:18:59 am