मंगलबार, चैत्र १८, २०७६

विस्फोटक पदार्थसहित विप्लव समूहका पाँच जना पक्राउ

संखुवासभा, फागुन ६ : नेत्र विक्रम चन्द 'विप्लव' समूहका पाँच जना विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । प्रहरीले चैनपुर नगरपालिका–१ गुफापोखरीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजना रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

शङ्कास्पद रुपमा हिँडिरहेको समूहलाई सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको छ । 

पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन । माघ २ मा पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ ।

 Published Date: Tuesday, 18th February 17:44:06 PM