मंगलबार, कात्तिक २६, २०७६

विश्वकपमा महिलाको जित समलिङ्गी समुदायकै ठूलो जित!

अमेरिकी महिला फुटबल टिमकी ‘स्टार स्ट्राइकर’  मेगन रपिनो। हालै सम्पन्न महिला विश्वकप फुटबलमा उनले ‘गोल्डेन बुट’ र ‘गोल्डेन बल’ पनि जितेकी थिइन्।

अमेरिकाको महिला फुटबल टिमले सन् २०१९ को विश्वकप जित्यो। यसलाई टिममा आबद्ध समलिङ्गी महिलाको ठूलो जितको रूपमा हेरिएको छ। 

अमेरिकामा समलिङ्गी सम्बन्धले अझै मान्यता पाएको छैन। तर, महिला फुटबल टिमका सदस्यले आफ्नौ यौन अभिमुखिकरणबारे गर्वसाथ खुलेर बोल्दै आएका छन्।

‘बधाइ छ समलिङ्गीहरू !’ मेगन रपिनोले खुशी मनाइन्। रपिनो अमेरिकी टिमको ‘स्टार स्ट्राइकर’ हुन्। उनले ‘गोल्डेन बुट’ र ‘गोल्डेन बल’ पनि जितेकी छिन्। आइतबार भएको फाइनल खेलमा अमेरिकाको जित सुनिश्चित गर्न उनले एक गोल गरेकी थिइन्।

‘टिममा भएका समलिङ्गीको सहयोगबिना च्याम्पियनसीप जित्न सकिँदैन थियो। यस्तो पहिले कहिल्यै भएको थिएन। यो विज्ञान हो!’ ठट्टा गर्दै उनले भनिन्।

उनको भनाइ ख्यालठट्टा हुनसक्छ तर त्यसको ठूलो महत्व भएको डन एन्निसले बताइन्। उनी यौनिक तथा लैङ्गिक अल्पसंख्यक खेलाडीको समाचार प्रकाशन गर्ने आउट स्पोर्ट्सकी प्रबन्ध सम्पादक हुन्।

‘विश्वासिलो, सत्य र स्वाभिमानी व्यक्ति नै असल हुन्छ,’ एन्निसले भनिन्,‘आफ्नो पहिचान लुकाउने चिन्ता गर्नु नपरे असल खेलाडी भइन्छ।’

फुटबल संघले खेलाडीले पहिचान लुकाउनु नपर्ने परिस्थिति सुनिश्चित गर्नुपर्ने रायन एडम्सले बताए। उनी नर्थ अमेरिकन गे सक्कर एसोसिएनका अध्यक्ष हुन्। संस्थाले अमेरिकी फुटबलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यको समावेशीकरणमा जोड दिने गर्दछ।

‘यसले उनीहरूको हित गर्दछ। पहिचान लुकाउने चिन्ता र डर नभए उनीहरूलाई लुक्नुपर्ने चिन्ताले छुँदैन,’ उनले भने।

टिममा समलिङ्गी भनेर खुलेर आएकी रपिनोएक मात्र सदस्य हुन्। प्रशिक्षक जिल एल्लिस पनि समलिङ्गी हुन्। विश्व च्याम्पियन अमेरिकी टोलीमा पाँच जना समलिङ्गी महिला छन्। एश्लिन ह्यारिस र अलि क्रिगरले चाँडै विवाह गर्दैछन्।

अमेरिकी टिमसँग पराजित नेदरल्यान्ड्को टिममा पनि पाँच जना समलिङ्गी खेलाडी थिए। आउट स्पोर्ट्सले जनाए अनुसार विश्वकप खेल्ने ४० जना महिला यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्य हुन्।

एडम्सले खुलेर आउनेहरूको संख्या बढ्दै जाने बताए। ‘उनीहरूले अन्य देशका मानिस र खेलाडीलाई खुलेर आउन सम्भव हुनुका साथै उत्कृष्टसँग खेल्न पनि सकिन्छ भनेर देखाएका छन्।’

पुरूष कहाँ छन्?

महिला फुटबलको इतिहासमा यसपटकको प्रतियोगिता सबैभन्दा बढी हेरिएको छ। संयोगवश सन् २०१९ को विश्वकप र ‘गे परेड’ एकै पटक परेको थियो।

‘म मजस्तै मानिसबाट प्रेरित हुन्छु। उनीहरू पनि यस्तै कुराका लागि संघर्ष गरिरहेका छन्,’ रपिनोले भनिन्,‘कसैलाई गलत देखाउन प्रयास गर्नुभन्दा म यसबाट बढी उर्जा पाउँछु। त्यसो गर्नु आफैंलाई गलाउनु हो। तर मेरा लागि विश्वकपमा ‘प्राइड’ महिनाको दौरान समलिङ्गी हुनु र शानदार अनुभव गर्नु गज्जबको कुरा हो।’

‘गज्जबको कुरा त के भने, खुलेर आएका महिला अझ खुला भएका छन्। उनीहरू आफैंप्रति गर्व गर्छन् र यसबारे खुलेर कुरा गर्छन्,’ एन्निसले भनिन्,‘उनीहरूले आफ्नो पहिचान र अभिमुखिकरणलाई स्वीकार गरेका छन्।’

के अब अमेरिकाले समलिङ्गी खेलाडी पूर्ण रूपमा स्वीकार्छ त? यो बाटोमा अघि बढे पनि अझ बलियो रूढीवादी सोच बाँकी नै रहेको एडम्सको भनाइ छ। ‘दुर्भाग्यवश अमेरिकामा राम्रा खेलाडी समङ्गिी हुन्छन् भन्ने मान्यता छ। यो अनुचित र झूठ हो,’ उनले भनिन्।

पुरूषका लागि भिन्न मापदण्ड छ। फ्रान्सका स्टार खेलाडी आन्त्वान ग्रिजम्यानले डरका कारण पुरूष खेलाडी खुलेर बाहिर नआउने बताए। सामाजिक सञ्जाल र रंगशालामा समलिङ्गीविरूद्ध हुने प्रतिक्रिया र नाराबाजी यसको कारण हो।

‘फुटबलमा धेरै नराम्रा मानिसहरू छन्। खेलाडीलाई रंगशालामा दुव्र्यवहार हुने डर हुनसक्छ,’ ग्रिजम्यानले एउटा अन्तर्वार्तामा भनेका छन्।

‘खेलकुदमा समलिङ्गी र द्विलिङ्गी पुरूष छन् भन्ने हामीलाई थाहा छ तर व्यवहारमा विरोधाभाष छ,’ एन्निसले भनिन्।

समलिङ्गी भनेर खुलेर आएपछि पनि फुटबललाई निरन्तरता दिइरहेका पुरूष खेलाडी औंलामा गन्न सकिन्छ। पोहोर सम्पन्न पुरूष विश्वकपमा खुलेर आएका समलिङ्गी कोही पनि सहभागी थिएनन्।
 

 Published Date: Saturday, 13th July 14:43:06 PM