बिहीबार, चैत्र २०, २०७६

टेलरले बनाए कीर्तिमान

काठमाडौं, फागुन ९ : न्यूजिल्यान्डका भेट्रान ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्। विलिंघटनमा आजबाट सुरू भएको भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल खेल्दै टेलरले कीर्तिमान आफ्नो नाममा लेखाए।

विलिंघटन टेस्ट टेलरको १००औं टेस्ट हो। यो टेस्टसँग टेलर क्रिकेटका तीनवटै फ्म्यार्टमा एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। टेस्ट क्रिकेटकै उत्कृष्ट ब्याट्सम्यानमध्येका एक टेलरले एक सय टि–२० र २३१ एकदिवसीय खेल खेलेका छन्।

३५ वर्षीय टेलरले सन् २००६ को मार्च १ मा वेस्टइन्डिजविरुद्ध एकदिवसीय खेल खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सोही वर्ष उनले श्रीलंकाविरुद्ध पहिलो टि–२० खेल खेलेका थिए। त्यसको एक वर्षपछि टेलरले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्टमा पनि डेब्यू गरेका थिए ।

एकदिवसीय क्रिकेटमा २१ शतक र ५१ अर्धशतक प्रहार गर्दै टेलरले आठ हजार सात सय ५० रन बनाएका छन् भने टेस्टमा १९ शतक र ३३ अर्धशतकको मद्दतमा सात हजार एक सय ७४ रन बनाएका छन्।

टि–२० मा भने उनले सात अर्धशतक मद्दतमा एक हजार नौ सय नौ रन बनाएका छन्। एकदिवसीयमा १८१ र टेस्टमा २९० रन उनको सर्वाधिक उच्च स्कोर हो।

 

 Published Date: Friday, 21st February 14:19:32 PM