सोमबार, भदौ ३०, २०७६

पोर्चुगलको जितमा रोनाल्डोको चार गोल

काठमाडौं, भदौ २५ : कप्तान क्रिस्टियानो रोनाल्डोको चार गोलको मद्दतमा पोर्चुगलले लिथुनियालाई पराजित गरेको छ।

युरो कप छनोट अन्तर्गत गएराति भएको खेलमा रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले लियुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो। 
खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २८ औं मिनेटमा घरेलु टोली लुथानियाका लागि आन्द्रेयुस केविसियसले गोल गर्दै खेल १–१ बराबरीमा ल्याएका थिए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा चार गोल गरेको थियो। खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पुनः २–१ को अग्रता दिलाए।

त्यसको चार मिनेटपछि खेलको ६५ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गर्दा पोर्चुगल ३–१ को अग्रता लिन सफल भयो।

खेलको ७६ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गरेपछि पोर्चुगलले ४–१ को अग्रता लियो।  खेलको ९२ औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चगललाई ५–१ को जित दिलाए।

जितसँगै पोर्चुगल ४ खेलबाट ८ अंकका साथ समूह ‘बी’ दोस्रो स्थानमा छ। समूहको शीर्ष स्थानमा रहेको युक्रेनको ५ खेलबाट १३ अंक छ। एक अंक जोडेको लिथुनिया अंक तालिकाको पुछारमा छ।

 Published Date: Wednesday, 11th September 08:23:28 AM