आईतबार, फागुन ११, २०७६

रहेनन् लगातार २१ ओभर मेडन बलिङ गर्ने भारतीय पूर्वक्रिकेटर

काठमाडौं, माघ ४ : टेस्ट क्रिकेटमा लगातार २१ ओभर मेडन बलिङ गर्ने भारतीय क्रिकेटका दिग्गज खेलाडी रमेशचन्द्र गंगाराम ‘बापू’ नाडकरणीको निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका नाडकरणीको शुक्रबार राति ८७ वर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो। पछिल्लो समय उनी मुम्बईस्थित पवईमा छोरी–ज्वाइँसँग बस्दै आएका थिए। 

नाडकरणी किफायति बलिङका लागि विश्व चर्चित छन्। उनले भारतका लागि ४१ टेस्टमा २९.०७ को औसतमा ८८ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको बलिङ इकोनोमी १.६७ प्रतिओभर मात्र छ। उनले १९१ फस्ट क्लास क्रिकेट पनि खेलेका छन्। उनले ४१ टेस्टमा १ शतक र ७ अर्धशतक बनाउँदै एक हजार चार सय १४ रन बनाएका छन्।

विशेषतः नाडकरणीलाई लागतार २१ ओभर मेडन बलिङका लागि सम्झिने गरिन्छ।  सन् १९६४ मा मद्रास (हाल चेन्नई)मा भएको इंग्ल्यान्डविरुद्धको टेस्टमा उनले लगातार २१.५ ओभर अर्थात १३१ बल डट फ्याँकेका थिए। सो टेस्टमा नाडकरणीले ३२ ओभरमा २७ ओभर मेडन गर्दै ५ रन मात्र दिएका थिए।

नाडकरणी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सर्वाधिक बल टड फ्याँक्ने दोस्रा खेलाडी हुन्। उनीभन्दा अघि दक्षिण अफ्रिकाका हग टायफिल्डले सन् १९५६÷५७ मा इंग्ल्याण्डविरुद्ध लगातार १३७ बल डट फ्याँकेका थिए। 

नाडकरणीले सन् १९६०÷६१ मा पाकिस्ताविरुद्ध भएको कानपुर टेस्टमा ३२ ओभरमा २४ ओभर मेडन गरेका थिए भने दिल्लीमा भएको टेस्टमा ३४ ओभरमा २४ ओभर मेडन गरेका थिए। सन् १९५९ मा अस्ट्रेलियाविरुद्ध ९१ रन खर्चेर ६ विकेट लिनु उनको उत्कृष्ट बलिङ स्पेल हो। 

नाडकरणी सन् १९८१ मा भारतीय क्रिकेट टिमको प्रशिक्षक पनि बनेका थिए। उनकै प्रशिक्षणमा अष्ट्रेलिया भ्रमणमा रहेका बेला कप्तान सुनिल गावस्करले मेलबर्न टेस्टबाट ‘वाकआउट’ गर्ने धम्की दिएपछि विवाद भएको थियो। उनी सन् १९८७ मा मुम्बई क्रिकेट एसोसिएसनको संयुक्त सचिव पनि बनेका थिए।

 Published Date: Saturday, 18th January 14:07:31 PM