बुधबार, असोज १४, २०७७

पिर्लो बने युभेन्ट्सको प्रशिक्षक

काठमाडौं, साउन २५ : सिरि ए च्याम्पियन युभेन्ट्सको प्रशिक्षकमा आन्द्रे  पिर्लो नियुक्त भएका छन् । माउरिसियो सारीलाई बर्खास्त गरेको केही घण्टामै युभेन्ट्सले आफ्ना पूर्वखेलाडी पिर्लोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पिर्लो युभेन्ट्सको यू–२१ टिमको प्रशिक्षक बनेको ९ दिन पछि नै उनी युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका हुन्। लियोनसँग अवे गोलमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६बाट बाहिरिएपछि युभेन्ट्सले प्रशिक्षक सारीलाई बर्खास्त गरेको थियो । पिर्लोसँग अहिलेसम्म प्रशिक्षकको अनुभव छैन ।

युभेन्ट्स र इटालिका पूर्व मिडफिल्डर पिर्लोले सन् २०१७मा मात्रै फुटबलबाट सन्न्यास लिएका थिए । पिर्लो ४ वर्ष पछि पुनः टुरिन फर्किएका हुन् । ४१ वर्षीय पिर्लोले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए । युभेन्टसमा उनले १६४ खेल खेल्दै १९ गोल गरेका छन् ।

पिर्लाेले युभेन्ट्सका अलावा एसी मिलान, इन्टर मिलान, ब्रेसियाबाट पनि खेलेका छन् । उनले एसी मिलानबाट २ च्याम्पियन्स, २ सिरिए, युइएफए सुपरकप, क्लब विश्वकपलगायत उपाधि जितेका छन् । पिर्लो सन् २००६ को विश्वकप विजेता इटालीबाट मुख्य सदस्य पनि हुन् ।

 Published Date: Sunday, 9th August 2020 1:36:08 am