सोमबार, जेठ १९, २०७७

तबल कटौतीको निर्णयप्रति खुसी छैनन् मेसी

काठमाडौं, चैत १८ : स्पेनिस क्लब बार्सिलनोनाका कप्तान लियोनल मेसीले खेलाडीको तबल ७० प्रतिशत कटौती गर्ने क्लबको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइसबाट क्लबलाई आर्थिक संकटबाट बचाउन सोमबार मात्र बार्सिलोनाले खेलाडीको तलब ७० प्रतिशत कटाउने निर्णय गरेको थियो। यद्यपि असन्तुष्टिका बीच कप्तान मेसीले तलब कटौतीको निर्णय स्वीकार गरेका छन्। उनले सोमबार इन्स्टाग्राममार्फत क्लबको निर्णय सबै खेलाडीहरुले स्वीकार गरेको बताएका छन् ।

तलब कटौतीको निर्णय खेलाडीहरुसँग सल्लाह नै नगरी गरिएकोमा मेसी बार्सिलोनासँग असन्तुष्ट देखिएका हुन्। खेलाडीसँग सल्लाह नै नगरी गरिएको तलब कटौतीको निर्णय सही नभएको मेसीले बताएका छन्। मेसीले बार्सिलोनाले खेलाडीहरूलाई वेवास्ता गरेको पनि आरोप लगाएका छन् । 

‘क्लबको निर्णय हामीले स्वीकार गरेका छौं, तर यो तरिका सही होइन,’ मेसीले असन्तुष्टि पोख्दै भने, ‘यस्तो ठूलो निर्णय लिनुअघि किन खेलाडीसँग छलफल गरिएन ? बार्सिलोनाले खेलाडीहरूलाई वेवास्ता गर्दैछ, यो गलत हो ।’ 

असन्तुष्टिका बीच कप्तान लियोनल मेसीले क्लबका कर्मचारी र पदाधिकारीको सहयोगका लागि खेलाडीहरू ७० प्रतिशत तबल कटौतीका लागि तयार भएको बताएका छन्। उनले भनेका छन्, ‘अहिलेको विषम परिस्थितीमा क्लबलाई सहयोग गर्न हामी राजी भएको हौं । यसले क्लब र क्लबका अन्य स्टाफहरूमा सहयोग पुग्ने अपेक्षा छ।’ 

खेलाडीको तलब कटौती गर्ने बार्सिलोना पहिलो क्लब भने होइन। यसअघि ला लिगाकै एट्लेटिको मड्रिड, स्पानियोल, जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख, बोरुसिया टर्डमन्ड, इटालियान क्लब युभेन्ट्सलगयतले तलब कटौतीको निर्णय गरिसकेका छन्।

यता, बार्सिलोनाका अध्यक्ष मारिया बार्टोमेउले भने खेलाडीको तलब कटौतीप्रति मेसीको कुनै आपत्ति नरहेको बताएका छन्।

उनले मेसीले पहिलादेखि नै क्लबलाई जोगाउन खेलाडीको तलब कटौती गर्न सल्लाह दिएको बताएका छन्। गोलडटकमसँग कुरा गर्दै बार्टोमेउले भनेका छन्, ‘तलब कटौतीको प्रस्ताव मेसीबाटै आएको हो। यसले उनी क्लबप्रति प्रतिबद्ध रहेको दर्शाउँछ।’

खेलाडीहरु क्लबभित्र र बाहिरका व्यक्तिहरूले भनेको कुराले निराश भएको हुनुपर्ने बार्टोमेउले बताएका छन्। उनले यस विषयमा अन्य जानकारी आफूसँग नभएको पनि बताए।

 Published Date: Tuesday, 31st March 14:08:17 PM