बिहीबार, चैत्र २०, २०७६

अझै तीन वर्ष क्रिकेटका सबै फर्म्याट खेल्छु : कोहली

काठमाडौं, फागुन ७ : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अझै तीन वर्ष क्रिकेटका तीन वटै फर्म्याट खेल्ने बताएका छन्।

शुक्रबारबाट सुरु हुने न्यूजिल्याण्डविरुद्धको टेस्ट सिरिजअघिको पत्रकार सम्मेलनमा कोहलीले आगामी तीन वर्ष तीनवटै फर्म्याटमा सक्रिय रहने बताएका हुन्।

तीन वर्षपछि आफ्नो ‘वर्कलोड’ को विचार गरेर कुनै एक फर्म्याट छोड्नेबारे सोच्ने कोहलीले बताए। यो तीन वर्षको बीचमा टि–२० र एकदिवसीय विश्वकप हुने भएकाले कोहली आफ्नै नेतृत्वमा विश्वकप ट्रफी उचाल्न चाहन्छन्। 

सन् २०२१ मा भारतमै आयोजना हुने टि–२० विश्वकपपछि क्रिकेटको एक फर्म्याट छोड्नुहुन्छ? भन्ने प्रश्नमा कोहलीले भनेका छन्, ‘मेरो नजर ठूलो तस्वीरमा छ। त्यसका लागि म अगामी तीन वर्षका लागि आफूलाई तयार गरिरहेको छु। त्यसपछि सायद म अलग कुरा गर्छु।’

‘जब मेरो शरीरले दबाब झेल्न सक्दैन, म ३४-३५ वर्षको हुन्छु। तब म यस विषयमा सोच्छु। आगामी २–३ वर्षमा मलाई केही समस्या छैन,’ कोहलीले भने, ‘म यस्तै जोशका साथ खेल्न सक्छु। र, मलाई थाहा छ २–३ वर्ष टिमलाई मेरो जुरुरत छ।’

कप्तान कोहलीले थकाइ र समय व्यवस्थाबारे खुलेर कुरा गरेका छन्। ‘करिब ८ वर्षदेखि म तीन सय दिन क्रिकेट खेलिरहेको छु,’ कोहलीले भने, ‘हरेक पटक उस्तै जोशका साथ मैदानमा उत्रिरहेको छु। यसले आफैंलाई दबाब दिन्छ।’ ब्यस्त तालिकाका बीच बिदामा रहँदा खेलाडीलाई फाइदा हुने पनि कोहलीले बताए। कोहलीले तीनै फम्र्याटमा सक्रिय खेलाडीका लागि बीच–बीचमा आराम आवश्यक रहेको बताए।  

‘हामीबीचमा व्यक्तिगत रुपमा बिदा त लिन्छौं, तर कहिलेकाहीँ खेल तालिकाले तपाईंलाई यस्तो गर्न दिँदैन। तीनै फम्यार्टमा खेल्ने खेलाडीका लागि आराम अति आवश्यक छ,’उनले भने।
 

 Published Date: Wednesday, 19th February 18:03:11 PM