मंगलबार, जेठ २०, २०७७

दक्षिण कोरियामा सुरु भयो लिग फुटबल

काठमाडौं, वैशाख २७ : कोरोना भाइरसका कारण रोकिएको दक्षिण कोरियाको शीर्ष डिभिजन फुटबल प्रतियोगिताको नयाँ सिजन सुरु भएको छ।

तीन महिनाअघि नै सुरु हुनुपर्ने के लिगको नयाँ सिजन कोरोना भाइरसका त्रासै बीच शुक्रबारबाट सुरु भएको हो। के लिगको उद्घाटन खेलमा जियोन्वुक हुन्डाइ मोटर्स र सुवन ब्लुविङस भिडेका थिए।

जियोन्जु रंगशालामा शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन जियोन्वुकले सुवनलाई १–० ले पराजित गरेको थियो। खेल बन्द रंगशालामा खेलाइएको थियो।

लिगको उद्घाटन खेलमा जियोन्वुकलाई जित दिलाउने क्रममा कोरियन लिजेन्ट खेलाडी लि डोङ गुकले निर्णायक गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर गुकले हेडिङमा गोल गर्दै क्लबलाई तीन अंक दिलाए। 

लिगको पहिलो खेल २५ हजारभन्दा बढीले टिभीमा हेरेको बताइएको छ। के लिगमा १२ क्लब सहभागी छन्। लिगअन्तर्गत शनिबार तीन खेल हुनेछ। के लिगका तत्कालका सबै खेल बन्द रंगशालामा खेलाइने छ। 

खेलका क्रममा पदाधिकारी, प्रशिक्षक, कर्मचारी र वैकल्पिक खेलाडीहरूलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको छ। 

कोरियामा अहिलेसम्म १० हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २५६ जनाको मृत्यु भइसकेको छ। कोरोनाकै त्रासकाबीच कोरियामा तीन साताअघि आमनिर्वाचन पनि भएको थियो। 

कोरोना भाइरसका कारण स्थगित भएका युरोपका दुई ठूला लिग बुन्डेस लिगा र ला लिगा आगामी साताबाट सुरु हुने भएका छन्। बुन्डेस लिगा मे १५ र ला लिगा जुन २० बाट सुरु हुने बताइएको छ।

यता, फ्रेन्च लिग वान र नेदरल्यान्ड्सको डच लिग भने रद्द भइसकेका  छन् भने इंग्लिश प्रिमियर लिग र इटालियन सिरी ए पनि चाँडै सुरु गर्ने तयारी भइरहेको छ।
 

 Published Date: Saturday, 9th May 12:48:14 PM