मंगलबार, साउन २०, २०७७

लेसेमाथि युभेन्ट्सको शानदार जित, रोनाल्डोले गरे गोल

काठमाडौं, असार १३ :  सिरी ए फुटबलमा युभेन्ट्सले लेसेमाथि शानदार जित हात पारेको छ।

गएराति भएको खेलमा युभेन्ट्सले लेसेलाई ४–० गोल अन्तरले पराजित गर्दै सात अंकको स्पष्ट अग्रता बनाएको हो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा पाउलो डिवालाले गोल गर्दैै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। डिवालाले रोनाल्डोको पासमा गोल गरेका हुन्। 

खेलको ६२ औं मिनेटमा रोनाल्डोलाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टी पायो। पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए। 

यस्तै, खेलको ८३ औं मिनेटमा रोनाल्डोको पासमा गोन्जालो हिगुइनले गोल गर्दै अग्रता तेब्बर पारेका थिए। त्यसको दुई मिनेटपछि ८५ औं मिनेटमा म्याथिज डि लिटले गोल गर्दै युभेन्ट्सलाई ४–० को जित दिलाए। 

जितसंगै २८ खेलबाट ६९ अंक जोडेको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ७ अंकको अग्रता बनाएको छ। एक खेल कम खेलेको लाजियोको ६२ अंक छ। युभेन्ट्ससँग पराजित भएको लेसे २५ अंकसहित रेलिगेशन जोनमा छ।
 

 Published Date: Saturday, 27th June 07:39:49 AM