आईतबार, फागुन ११, २०७६

एम्बाप्पेको दुई गोलमा पीएसजीले मोनाकोलाई हरायो

काठमाडौं, माघ २ : मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिगमा आठ अङ्कको अग्रता लिएको छ । बुधबार राति भएको खेलमा  पीएसजीले मोनाकोलाई चार–एक गोल अन्तरले हरायो ।

पीएसजीको जितका लागि केलियन एम्बाप्पले दुई गोल गर्दा नेयमार र पाब्लो सर्बियाले एक–एक गोल गरे । यसअघिको खेलमा तीन–तीन गोलको बराबरीमा रोकिएको पीएसजीले मोनाकोको मैदानमा सानदार जित निकाल्यो । २४औँ मिनेटमा एन्जल डी मारियाको पासलाई एम्बाप्पेले गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

इन्जुरी समयमा पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै पीएसजीलाई पहिलो हाफमा दुई–शून्यको अग्रता दिलाए । ७२औँ मिनेटमा पाब्लो सर्बियाले गोल गर्दै पीएसजीलाई तीन–शून्यको अग्रता दिलाए । त्यसपछि ८७औँ मिनेटमा टिमोउ बाकायोकाले गोल गर्दै पीएसजीको अग्रता छोट्याए ।

दोस्रो हाफको इन्ज्युरी समयमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले चार–एकको जित निकाल्यो । जितसँगै पीएसजीले २० खेलबाट ४९ अङ्क बनाएको छ । दोस्रो स्थानको मार्सेको ४१ अङ्क छ । 

 Published Date: Thursday, 16th January 07:53:59 AM