सोमबार, भदौ ३०, २०७६

युरो कप छनोटः एन्डोरामाथि फ्रान्सको सहज जित

काठमाडौं, भदौ २५ : युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई पराजित गरेको छ। 

गएराति भएको खेलमा फ्रान्सले एन्डोरालाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको १८ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २८ औं मिनेटमा भने फ्रान्सलाई अग्रता दोब्बर पार्ने मौका थियो। तर, प्राप्त पेनाल्टीमा एन्टोनी ग्रिजम्यान गोल गर्न चुकेका थिए। 

पहिलो हाफमा १–० को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। खेलको ५२ औँ मिनेटमा ग्रिजम्यानको क्रसमा क्लेमेन्ट लेङ्लेटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

इन्जुरी समयका विसम बेन एडरले गोल गरेपछि फ्रान्स ३–० को  सहज जित निकाल्न सफल भयो।

समूह ‘एच’ मा रहेको फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट १५ अंक नै जोडेको टर्की दोस्रो स्थानमा छ। पराजित भएको एन्डोरा भने अंकविहीन छ।
 

 Published Date: Wednesday, 11th September 07:43:35 AM