मंगलबार, साउन २७, २०७७

आर्जेन रोबेन फुटबलमा फर्किए

काठामाडौं, असार १४ : नेदरल्यानड्सका स्टार स्ट्राइकर आर्जेन रोबेन पुनः फुटबलमा फर्किएका छन्। सन् २०१९ मा सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका रोबेनले शनिबार पुनः फुटबलमा फर्किने निर्णय गरेका छन्। 

पुनः फुटबलमा फर्किएका रोबेन डच क्लब जर्निन्जिनमा आबद्ध भएका छन्। रोबेनले आफ्नो करिअको सुरुवात जर्निन्जिनबाटै गरेका थिए।

जर्निन्जिनसँग सम्झौता गरेपछि रोबेनले क्लबको जर्सी पुनः लगाउने सपना थियो, त्यो सपना आज पुरा भएको प्रतिक्रिया दिएका छन्। उनले क्लबका पदाधिकारीहरुसँग लामो छलफपछि आफू पुनः फुटबलमा फर्कने निर्णय गरेको उनले बताएका छन्। 

रोबेनले २०००–२००२सम्म जर्निन्जिनबाट खेलेका थिए। त्यतिवेला उनले ५२ खेल खेल्दै १२ गोल गरेका थिए। त्यसपछि अर्को डच क्लब इन्डहोभन गएका थिए। इन्डहोभनबाट इंग्लिस क्लब चेल्सी, चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड हुँदै उनी सन् २००९ मा जर्मन क्लब बायर्न म्युनिख पुगेका थिए। 

३६ वर्षीय रोबेनले करिअरमा ३० उपाधि जितेका छन्। जसमा इंग्लिस प्रियमर लिग, ला लिगा र बुन्डेस लिगा र च्याम्पियन्स लिगसमेत छ। बायर्नमा १० सिजन बिताएपछि उनले सन् २०१९मा फुटबलबाट सन्यास लिएका थिए। बायर्नबाट उनले ३०९ खेल खेल्दै १४४ गोल गरेका छन्। 

नेदरल्यान्ड्सका पूर्वकप्तानसमेत रहेका उनले ९६ खेलमा ३७ गोल गरेका छन्। सन् २०१० मा नेदरल्यान्ड्सले फाइनलसम्मको यात्रा गर्दा उनी टिमका प्रमुख खेलाडी थिए। 

 Published Date: Sunday, 28th June 12:28:29 PM