मंगलबार, साउन २७, २०७७

सहिद स्मारक ए डिभिजन लिग : थ्री स्टार र हिमलायन शेर्पा विजयी

काठमाडौं, फागुन २ : सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा ललितपुरको थ्री स्टार र हिमालयन शेर्पा विजयी भएका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई २–० ले हराउँदै हिमालयन शेर्पाले एनआरटीमाथि २–१ को जित निकाल्यो। 

थ्री स्टार र च्यासलबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७०औं मिनेटमा भारतीय खेलाडी लाल रामम्व्राले गोल गर्दै थ्री स्टारलाई सुरुवात अग्रता दिलाए । इन्जुरी समयमा अनन्त तामाङले गोल गरेपछि खेल थ्री स्टारले २–० ले जित्यो।

यसैगरी शुक्रबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एनआरटीलाई हरायो । हिमालयन शेर्पालाई जित दिलाउने क्रममा स्टेफन समिर र त्रिदेव गुरुङले गोल गरे भने एनआरटीका राजेश परियारले गोल गरे। 

खेलमा अग्रता राजेशको गोलले ३१औं मिनेटमा एनआरटीले लियो । तर, पहिलो हाफको अन्त्यतिर हिमालयन शेर्पाले २ गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । उसका लागि ४१औं मिनेटमा स्टेफन र इन्जुरी समयमा त्रिदेवले गोल गरेका थिए। 

थ्री स्टारले १३ खेलमा ८ जित, २ बराबरी र ३ हारका साथ २६ अंक जोड्दै चौथो स्थानमा छ । च्यासल भने १५ अंकका साथ ८औं स्थानमा रह्यो । हिमालयन शेर्पा १४ अंकका साथ १०औं स्थानमा छ भने एनआरटी १५ अंक जोड्दै ९औं स्थानमा रह्यो। 

लिग उपाधिको छिनोफानो शनिबार हुने त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीचको खेलबाट हुने छ । आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ भने मन्छिन्द्रको २८ अंक छ।

 Published Date: Friday, 14th February 17:53:09 PM