बिहीबार, जेठ २२, २०७७

फाब्रिगास भन्छन्– लिग वान रद्द गर्न हतार गरियो

काठमाडौं, वैशाख २८ : मोनाकोका खेलाडी सेस फाब्रिगासले कोरोना भाइरसका कारण स्थगित लिग वान रद्द गर्न हतार गरिएको बताएका छन्। लिग कमिटीले गत साता फ्रेन्च लिग वान र टु रद्द गरेको थियो। 

फ्रान्स सरकारले सेप्टेम्बरसम्म फुटबल गतिविधि गर्न प्रतिबन्ध लगाएपछि लिग कमिटीले तत्कालै लिग वान रद्द गर्ने घोषणा गरेको थियो। लिग सुरु गर्ने तयारी भइरहेकै बेला लिग रद्द भएपछि फाब्रिगास असन्तुष्ट देखिएका हुन्। 

कोरोनाको महामारीका कारण रोकिएका युरोपकै अन्य लिगहरू बुन्डेस लिगा र ला लिगा सुरु हुने निश्चित भइसकेकको अवस्थामा लिग वानका विषयमा पनि केही समय पर्खेर निर्णय गरेको भए उचित हुने फाब्रिगासले बताएका छन्।  

‘लिग रद्द गर्ने निर्णय सही वा गलत थियो भन्नु भन्दा पनि निर्णय केही समय पर्खेर गरेको भए सबैलाई राम्रो हुने थियो,’ स्पेनका स्टार मिडफिल्डर फाब्रिगासले भनेका छन्,‘कोरोनाले निम्त्याएको विषम परिस्थितिका कारण लिग रद्द गरिएको हो भन्ने थाहा छ। तर केही समय पर्खिएको भए अन्य विकल्प आउन सक्थ्यो।’
लिग वान रद्द गरिएपछि शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उपाधि दिइएको थियो। 

कोरोना भाइरसका कारण स्थागित बुन्डेस लिगा मे १६ बाट सुरु हुनेछ भने ला लिगा जुन २० बाट सुरु हुनेछ। दुवै लिग एक महिनामा सक्ने तालिका छ। यस्तै, सिरी ए र प्रिमियर लिग पनि सुरु गर्ने तयारी भइरहेको छ। प्रिमियर लिग भने अष्ट्रेलियामा आयोजना हुने सम्भावना प्रवल छ।
 

 Published Date: Sunday, 10th May 17:22:49 PM